बैंकले ग्राहकलाई बिना धितो मोबाइलबाटै दिन थाले ऋण

Machchapuchchre
Artharajniti  ~   निक्षेप थुप्रिएर लागत नै बढेपछि बैंकले ग्राहकलाई आकर्षित गर्न नयाँ योजना ल्याउन थालेका छन्। पाँचवटा वाणिज्य बैंकले बिना धितो मोबाइल एपबाटै ऋण दिन थालेका छन्। अन्य केही बैंकले पनि यस्तो सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन्। एभरेष्ट, नबिल, एनआईसी एसिया, एनएमबि र सरकारी स्वामित्वको कृषि विकास बैंकले ‘फोन लोन’ सेवा सञ्चालनमा ल्याएका हुन्। ग्राहकलाई सहज र सरलरुपमा सेवा प्रदान गर्ने उद्देश्यले अनलाइनबाटै कर्जा दिन सुरु गरेको बैंकहरुले बताएका छन्। ‘फोन लोन’ सेवाका लागि ग्राहकले कुनै पनि कागजात बुझाउनु पर्दैन। मोबाइलबाट ‘अप्लाइ’ गरेकै भरमा बैंकले खातामा पैसा जम्मा गरिदिन्छ। यो सेवा सञ्चालनमा ल्याएका बैंकहरुको मोबाइल एप डाउनलोड गर्नुपर्छ। कर्जा लिन योग्य ग्राहकले एपमा लगइन गरि त्यहाँ उल्लेखित फोन लोनमा दर्ता हुनुपर्छ। त्यसपछि कर्जा प्रक्रिया अगाडि बढाउन सकिन्छ। बैंकले इमेलमा भेरिफिकेसन म्यासेज पठाउँछ। म्यासेजमा लिंक क्लिक गरि ‘सक्सेसफुल’ भए कर्जा लिन योग्य भइन्छ। फोन लोन ग्राहकले चाहे जति कर्जा भने पाउँदैनन्। ग्राहकको पछिल्लो ६ महिनाको कारोबारका आधारमा सिस्टमले नै ऋण कति दिने निर्धारण गर्ने बैंकरहरु बताउँछन्। उनीहरुका अनुसार अधिकतम २ लाखसम्म फोन लोन लिन सकिने व्यवस्था छ। एनएमबि बैंकले अधिकतम दुई वर्ष अवधिका लागि यस्तो कर्जा प्रदान गरिरहेको छ। अन्य चार वाणिज्य बैंकले एक वर्षभित्र कर्जा भुक्तानी गर्न सक्ने गरी ऋण दिइरहेका छन्। कृषि विकास बैंकले यो साता फोन लोन सेवा सञ्चालनमा ल्याएको छ। बैंकले तलबी खातावाल ग्राहकलाई मध्यनजर गर्दै अधिकतम २ लाखसम्म फोन लोन सेवा सञ्चालनमा ल्याएको हो। बैंकमा तलबी खाता भएका ग्राहकले फोन लोन सेवा लिन सक्ने बैंकका कर्जा व्यवसाय तथा ट्रेजरी विभाग प्रमुख सुदिप दाहाल बताउँछन्। ‘कृषि विकास बैंकमा २० लाख तलबी खाता छन्। स्थानीय तहका कर्मचारी, शिक्षक र अन्य क्षेत्रका कर्मचारीका २० लाख खाता छन्। ती तलबी खातावाललाई मध्यनजर गर्दै फोन लोन सेवा सञ्चालनमा ल्याएका हौं,’ उनले भने। तर, केही सीमा पुगेका ग्राहक मात्र कर्जाका लागि योग्य हुन्छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्