नेपाल छाड्न अमेरिकी नागरिकलाई अध्यागमन विभागको निर्देशन, यस्तो छ कारण

Machchapuchchre

काठमाडाैं । पोखरामा बसेर ‘गैरकानुनी’ चन्दा उठाइरहेकी अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा विल्सलाई अध्यागमन विभागले आफ्नो देश फर्कन निर्देशन दिएको छ। विभागका महानिर्देशक ईश्वरराज पौडेलले अब उनको भिसाको म्याद नथपिने र स्वदेश फर्कने तयारीका लागि केही समय दिएको बताए।

महानिर्देशक पौडेलले बिजनेश भिसामा बस्ने विदेशीले चन्दा उठाएर कम्पनी खोल्न र समाजसेवा गर्न नपाउने बताए। ‘हामीले मिसेलको विषय नजिकबाट हेरिरहेका छौं, बिजनेश भिसा लिन जसरी कम्पनी खोल्नुपर्ने, नेपालमा व्यवसाय गर्नुपर्ने र कानुनअनुसार लगानी गर्नुपर्ने नियम छ, त्यसैगरी बन्द गर्न पनि समय दिनुपर्छ,’ उनले भने।

यसअघि उत्तर कोरियाली नागरिकलाई डिपोर्ट गर्दा पनि व्यवसाय बन्द गर्न समय दिएको उल्लेख गर्दै पौडेलले भने, ‘मिसेललाई पनि व्यवसाय बन्द गर्न र ह्यान्डओभर गर्न समय दिएका छौं।’ कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पनि मिसेललाई अमेरिका डिपोर्ट (स्वदेश फिर्ता) गर्न अध्यागमन विभागमा सिफारिस गरिएको बताएका थिए।

मिसेलले पोखरामा ‘लर्निङ हाउस’ नामक कम्पनी खोलेकी थिइन्। उनले यो कम्पनी खोल्न विश्वव्यापी रूपमै चन्दा संकलन गर्न प्रयोग गरिने वेबसाइट ‘इन्डिगोगो’ मार्फत् १२ हजार अमेरिकी डलर चन्दा आह्वान गरेकी थिइन्। उक्त वेवसाइटले भने १४ हजार १ सय ७६ अमेरिकी डलर संकलन गरेको उल्लेख गरेको छ।

कम्पनी खोल्न मात्र होइन, उनले पोखरामा बसेर उक्त कम्पनीले गर्ने काममा पनि यसरी नै चन्दा उठाउने गरेकी छन्। मिसेलले आफ्नो व्यक्तिगत वेबसाइटमा हालसम्म ७ लाख अमेरिकी डलर चन्दा संकलन गरेको उल्लेख गरेकी छन्। यो रकम कहाँ र कसरी खर्च भयो भन्ने खुलाइएको छैन।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्