अर्थतन्त्रमा चाप रहदा रहदै आयात प्रतिबन्ध खुलाउँदै सरकार

Machchapuchchre

अर्थ राजनीति   ~  अर्थतन्त्रको बाह्य क्षेत्रमा करिब एक वर्षसम्म रहेको समस्यामा पछिल्ला दिन झिनो सुधारका संकेत देखिएका छन् । तर यही सुधारको तथ्यांकलाई देखाएर स्वार्थी समूहले आयातमा लाग्दै आएको प्रतिबन्ध खुकुलो बनाउन गरेको लबिङ आंशिक रूपमा सफल भएको छ । सरकारले गत वैशाख दोस्रो सातादेखि १० वटा वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । जसमध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध सरकारले हटाएको छ भने ४ वटामाथिको प्रतिबन्ध कायम राखेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले महँगा सवारीसाधन, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको हो । यस्तै ३४ इन्चभन्दा माथिका रंगिन टेलिभिजन, हीरा, चुरोट तथा सुर्तीजन्य वस्तु, कुरकुरे, कुरमुरे र लेज, खेलौना एवं तासको आयात खुला गरिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डेले आयातमा रोक लगाइएका १० वटा वस्तुमध्ये ६ वटा ल्याउन खुला गरिएको बताए । उनले अझै चारवटा वस्तु आयातमा प्रतिबन्ध कायमै राखेको जानकारी दिए । सरकारले खुला गरेका यी वस्तुको आयात परिमाण खासै धेरै छैन । तर प्रतिबन्धित १० थरी वस्तुमध्ये ६ वटा ल्याउन खुला गरिएपछि बाँकी चारमा लगाइएको प्रतिबन्ध हटाउन पनि सरकारलाई दबाब पर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्