artharajniti ~ सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ६ र ७ गते हुने प्रधानमन्त्रीको भारत भ्रमणलाई स्वीकृति दिँदै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट र्यापिड क्रेडिट फेसिलिटीअन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । सरकारले नेपालभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३०, ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड २०८३ तथा राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गरेको छ । यसैगरी, संसद् अधिवेशन आह्वान र अध्यादेश ल्याउने विषयमा भने शुक्रबारको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय नगरेको सञ्चारमन्त्री तिमल्सिनाले स्पष्ट पारे । संसद् अधिवेशन कहिले बोलाउने भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले यसबारे बैठकमा छलफल वा निर्णय नभएको बताएका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको जानकारी दिँदै उनले दुई देशबीचको सम्बन्ध सुधार र राष्ट्रहितका विषयमा महत्त्वपूर्ण छलफल हुने अपेक्षा गरिएको बताए ।



