दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको ३५ औँ वार्षिकोत्सव

Machchapuchchre

काठमाण्डाै । दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) विभिन्न आरोहअवरोह पार गरी ३५ औँ वार्षिकोत्सव मनाउँदैछ । सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन गरी सार्कको यात्रा सुरु भएको हो ।

सार्कको स्थापनाका समयमा भूमिका निर्वाह गर्ने तत्कालीन राष्ट्र/सरकार प्रमुख नेपालका तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेव, बङ्गलादेशका राष्ट्रपति हुसेन मोहम्मद एर्शाद, भूटानका राजा जिग्मेसिङ्गे वाङचुक, भारतका प्रधानमन्त्री राजीव गान्धी, माल्दिभ्सका राष्ट्रपति मौमुन अब्दुल गयुम, पाकिस्तानका राष्ट्रपति जियाउल हक र श्रीलङ्काका राष्ट्रपति जुलियस रिचर्ड जयवर्द्धने थिए ।

आर्थिक समृद्धि र भौतिक विकासका निम्ति आवश्यक पर्ने अपार स्रोत साधनयुक्त दक्षिण एशियाका आठ देशको साझा सङ्गठनले यहाँका करिब दुई अर्ब जनताको समृद्धिको सपना साकार पार्ने प्रयास गर्दै आएको छ । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य छन् । सार्कको कान्छो सदस्य अफगानिस्तान सन् २००७ अप्रिलबाट सार्कको आठौँ सदस्य राष्ट्र बनेको हो ।

दक्षिण एशियाको समृद्धि र यस भेगका गरीब जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ स्थापना भएको सार्कले केही सदस्य देशका द्विपक्षीय विषयका कारण अपेक्षित गति भने लिन सकेको देखिँदैन । आर्थिक एवं सामाजिक क्षेत्रमा केन्द्रित सार्कले लक्षित उद्देश्य हासिल गर्ने इमान्दार प्रयत्न भने नगरेको होइन । सार्क बीउबिजन र खाद्यान्न भण्डार, सार्क प्रवेशाज्ञा, दक्षिण एशियाली विश्वविद्यालयलगायत पारस्परिक सहयोग अभिवृद्धिका लागि संयन्त्र निर्माणलाई सकारात्मक मान्नुपर्छ ।

मानव संसाधन विकास तथा पर्यटन, कृषि तथा ग्रामीण विकास, वातावरण, प्राकृतिक विपत्ति र जैविक प्रविधि, अर्थ, व्यापार, वित्त, सूचना तथा सञ्चार प्रविधि एवं गरिबी निवारण, ऊर्जा, यातायात, विज्ञान तथा प्रविधिका साथै शिक्षा, सुरक्षा र संस्कृति सहयोगका क्षेत्रमा सार्कले काम गरिरहेको छ । क्षेत्रीय सहयोग प्रवर्द्धन र सदृढीकरणका लागि सार्कमा विषयगत क्षेत्रीय केन्द्रहरु कृषि केन्द्र (ढाका), ऊर्जा केन्द्र (इस्लामावाद), सांस्कृतिक केन्द्र (कोलम्बो), क्षयरोग तथा एचआइभी/एड्स केन्द्र (काठमाण्डाै), विपद् व्यवस्थापन केन्द्र (नयाँ दिल्ली) स्थापना गरिएका छन् ।

सार्क बडापत्रमा हस्ताक्षर भएको र सार्क स्थापना भएको ३५ औँ वार्षिकोत्सवका अवसरमा बङ्गलादेशका परराष्ट्रन्त्री डा. ए के अब्दुल मोमेनले बङ्गलादेश सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सार्क शुभकामना व्यक्त  गरेका छन् । त्यस्तै सार्कका महासचिव अमजद हुसैन बी सियालले शुभकामना सन्देशमार्फत यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउने स्थापित सार्क प्राथमिकताका सहयोगका क्षेत्र प्रवर्द्धन गर्न स्थिर प्रगतिमा रहेको उल्लेख गरेका छन् ।

सार्क बडापत्रले सार्कका जनताको कल्याण अभिवृद्धि र उनीहरूको जीवनस्तरमा सुधार, तीव्र आर्थिक वृद्धि, सामाजिक रूपान्तरण र सांस्कृतिक विकासको गति तीव्र पारी सम्मानपूर्वक जीवनयापनसहितको सदस्य देशको सामूहिक आत्मनिर्भरतालाई संवद्र्धन र विस्तार गर्ने उद्देश्य लिएकोे छ । पारस्परिक विश्वास र समझदारी बढाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक र वैज्ञानिक क्षेत्रहरूको सक्रिय सहयोगलाई अभिवृद्धि गरी अन्य विकासशील देशहरूको सहयोगलाई दरिलो पार्दै साझा लक्ष्य भएका अन्य अन्तर्राष्ट्रिय संस्थाको सम्बन्ध जोड्ने कामलाई पनि बडापत्रले प्राथमिकता दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्