बाँकेमा क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु, स्थानीय त्रसित

Machchapuchchre

अर्थ राजनीति – बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको बताइएको छ।
उहाँका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो । क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने उहाँको भनाइ छ ।
एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको छ । पहिलो चरणमा सङ्क्रमित आठ जनाको सम्पर्कमा आएका २८४ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्न नेपालगञ्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २६३ जनाको सङकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा रहेका सबै भारतबाट आएका
हाल नरैनापुर गाउँपालिकामा निर्माण भएका ११ क्वारेन्टाइनमा रहेका ६४१ नेपाली सबै भारतबाट आएका हुन् । पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी सीमामा अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको छ ।

 

सबै क्वारेन्टाइन भरि
बाँकेका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन भारतबाट फर्किएका नेपालीले भरिभराउ भएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा अलपत्र नेपालीलाई मुख्य नाकाबाटै स्थानीय प्रशासनले नेपाल भित्र्याएपछि क्वारेन्टाइनमा बस्ने ह्वात्तै बढेको हो ।
भारतबाट आउने नेपालीको चाप बढ्दै गएपछि यहाँका स्थानीय तहले क्वारेन्टाइन बढाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्