नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, सातजना निको भएर घर फर्किए

Machchapuchchre

अर्थ राजनीति – नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ पुगेको छ । बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ‘पीसीआर’ नमुनामध्ये तीनजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । थपिएकाहरु तीनैजना पुरुष हुन् । २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुष संक्रमित भएका हुन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित पत्रकार सम्मेलनमा बताए ।

त्यसैगरी, अहिलेसम्म सातजना उपचारपछि निको भइ घर फर्केका छन् । बुधबार टेकु अस्पतालबाट ३२ वर्षीय पुरुष र सेती प्रादेशिक अस्पतालबाट ४० वर्षीय पुरुष गरी दुईजना ‘डिस्चार्ज’ भएका छन् । मंगलबार सेती अस्पतालबाटै २७ वर्षीय एक युवक डिस्चार्ज भएका थिए । अहिलेसम्म पीसीआरबाट ९ हजार ११ जनालाई परीक्षण गरिएको डा. देवकोटाले बताए । त्यस्तै, ‘आरडीटी’बाट ३१ हजार ४२० गरी जम्मा परीक्षणको संख्या ४० हजार ४३१ पुगेको छ ।  मन्त्रालयले पछिल्लो २४ घन्टामा तीन हजार ७३६ ओटा परीक्षण गरिएको पनि बताएको छ । ८ हजार ५९५ जना ‘क्वारेन्टाइन’मा रहेका बताउँदै डा. देवकोटाले काठमाडौंमा तीनसहित देशभर ९५ जना ‘आइसोलेसन’मा रहेका जानकारी दिए । हाल २६९ जना ‘रेड जोन’मा परेका छन् ।

स्वास्थ्य मन्त्रालयले १८ प्रकारका औषधि २३ टन भारतबाट प्राप्त गरेको र चीनबाट पीसीआर मेसिन दुईओटासहितका स्वास्थ्य सामग्री तातोपानीबाट ल्याउँदै गरेको पनि बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्