नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशत ननाघ्‍ने विश्व बैंकको आकलन

Machchapuchchre

काठमाडाैं । विश्व बैंकले कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने प्रक्षेपण गर्दै त्यसले आर्थिक वृद्धिदरमा समेत उच्च गिरावट आउने आँकलन गरेको छ । आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गर्दै विश्वबैंकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको हो ।

बैंकले अर्धवार्षिक रुपमा सार्वजनिक गर्ने साउद एसिया इकोनमिक फोकस नामक प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा १.५ देखि २.८ प्रतिशत मात्रै बढ्ने उल्लेख छ। यो सरकारले तय गरेको आर्थिक वृद्धिको लक्ष्यभन्दा निकै कम हो। सरकारले यस वर्ष ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो। कोरोना प्रभावका कारण यो वृद्धि हासिल नहुने अर्थ मन्त्रालय आफैंले स्विकारिसकेको छ।

गत साता एसियाली विकास बैंक (एडीबी)ले सन् २०२० मा नेपालको अर्थतन्त्र ५.३ प्रतिशतले मात्रै बढ्ने आकलन गरेको थियो। विश्व बैंकको प्रतिवेदनले एडीबीले गरेको प्रक्षेपणभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ। लामो समयसम्म कोभिड–१९ को प्रभाव रहे आर्थिक वृद्धिदरमा थप कमी आउने विश्व बैंकको प्रक्षेपण छ।

कोरोना प्रभाव रहिरहे आगामी वर्ष सन् २०२१ मा पनि अर्थतन्त्र प्रभावित हुने र सन् २०२२ देखि सुधार देखिने विश्व बैंकको अनुमान छ। नेपाल मात्रै नभएर दक्षिण एसियाका आठ वटै मुलुकको अर्थतन्त्र कोरोनाका कारण प्रभावित हुने विश्व बैंकको प्रतिवेदनमा जनाइएको छ। दक्षिण एसियामा पर्यटनमा आधारित मुलुकहरुको अर्थतन्त्र सबैभन्दा बढी धरासायी हुने विश्व बैंकले उल्लेख गरेको छ ।

‘नेपालमा कोरोना प्रभावलाई हामीले नजिकबाट नियालिरहेका छौं,’ विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद जार्भोसलाई उद्धृत गर्दै विश्व बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो तत्कालको प्राथमिकता सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय दातृ निकायसँग समन्वय गरी स्वास्थ्य सामग्री र उपकरण सहज उपलब्धताको सुनिश्चितता गर्नु र गरिब तथा जोखिमयुक्त समस्याका लागि सहायता उपलब्ध गराउनु हो।’

खासगरी रेमिट्यान्समा आउने कमी, व्यापार र पर्यटनमा परेको प्रभावले आर्थिक वृद्धिमा कमी आउने छ । कोभिड १९ कारण सीमा नाकामा हुने अवरोधले पनि आर्थिक गतिविधि प्रभावित हुने विश्व बैंकको भनाई छ । कोभिड १९ को असर लामो समय बढ्दै जाँदा औद्योगिक उत्पादन र त्यसको खपतमा आउने कमी आउने भएको छ ।

कोभिड १९ ले कम आयस्रोत भएका व्यक्तिको जीवनमा अझ नराम्रो पार्दै गएको विश्व बैंकले उल्लेख गरेको छ । यो अवस्था दक्षिण एसियाकै सबै मुलुकमा समान तरिकाले देखिएको छ । आतिथ्य सेवा, खुद्रा व्यापार र अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरु कोभिडले बढी प्रभावित हुने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्