Artharajniti ~ मुलुकको अर्थतन्त्रका बाह्य क्षेत्र मजबुत भए पनि आन्तरिक अर्थतन्त्र अझै शिथिल छ । जेनजी आन्दोलनपछि मुलुकको आर्थिक गतिविधिमा मन्दी कायम छ । बजारमा वस्तु तथा सेवाको माग सुस्त हुँदा आर्थिक गतिविधि बढ्न सकेको छैन् । बैंकमा पैसा छ, ब्याज पनि सस्तो छ तर बजारमा मन्दीको कारण व्यवसायीहरू ऋण लिन सकिरहेका छैनन् । सटरहरू बन्द भइरहेका छन् र भएका उद्योगहरू पनि पूर्ण क्षमतामा चल्न नसकेको अवस्था छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको आर्थिक गणनाले समेत करिब ३८ हजारभन्दा बढी व्यावसायिक प्रतिष्ठान एवं व्यवसाय बन्द रहेको जनाएको छ । यद्यपि बाह्य अर्थतन्त्र भने बलियो देखिएको छ । नेपाल राष्ट्र बैंकका तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म) मा १९ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । खाडी मुलुकमा युद्धको असर परेकाले नेपाल भित्रिने रेमिट्यान्स प्रभावित हुने अड्कलबाजी रहे पनि त्यस्तो कुनै असर नपरेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १७ खर्ब २३ अर्ब रुपैयाँ मुलुक भित्रिएको थियो ।
उच्च दरले रेमिट्यान्स वृद्धिको फलस्वरुप विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव परेको छ । वैशाखसम्म विदेशी मुद्रा (विनिमय) सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो १० खर्ब २६ अर्ब रुपैयाँ अर्थात् ३८.३ प्रतिशतले बढेको छ । २०८२ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । १० महिनासम्मको विदेशी विनिमय सञ्चितिले २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ । यस वर्ष कम्तीमा ७ महिनालाई आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने राष्ट्र बैंकको लक्ष्य थियो । त्यस्तै, पछिल्ला महिनामा मूल्य वृद्धिदर पनि निरन्तर बढ्न थालेको छ । जसअनुसार गत वैशाखमा यस्तो मूल्यवृद्धिदर औसत ५.०४ प्रतिशत छ ।



