साँवा ब्याजको भुक्तानी समयसीमा बढाउन होटल संघको माग

Machchapuchchre

अर्थ राजनीति  ~  होटल एसोसियसन अफ नेपाल (हान) ले बैंकको साँवा ब्याज भुक्तानीका लागि समयसीमा बढाउन राष्ट्र बैंकलाई अनुरोध गरेको छ। हानले आइतबार प्रेस विज्ञप्ती निकाल्दै साँवा व्याज भुक्तानीको समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनकर्जाको सुविधा उपलब्ध गराउन माग गरेको हो। चालू आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा सहजता ल्याउन र व्यवसायमैत्री बनाउन लागि परेको भए तापनि राज्यबाट कुनै सुनुवाई नभएकोले होटल व्यवसायी मर्कामा परेको संघकी अध्यक्ष सृजना राणाले बताइन्।पोखरा तथा सिद्धार्थनगरका होटल व्यवसायीहरुले सार्वजनिक रुपमा नै असोज मसान्तसम्ममा बैंकको साँवा व्याज तिर्न असक्षम रहेको घोषणा गरिसकेका छन्। यसै किसिमको अवस्था देशका अन्य भागमा रहेको होटल व्यवसायीहरूले पनि भोग्नु परेको छ। यस्तै समस्या रहेमा आगामी दिनमा होटल उद्योगहरू बैंकको साँवा र व्याज बुझाउन नसकेर क्रमिक रूपमा बन्द गरिनुपर्ने बाध्यता बन्दै जाने भएकाले भुक्तानीको समयसीमा बढाउन माग गरिएको संघले जनाएको छ। अझै पनि सरोकारवाला निकायमा विभिन्न सुझावहरु प्रस्तुत गरी निरन्तर पुनरुत्थानको लागि प्रयासरत रहेको विज्ञप्तीमा उल्लेख छ।

‘आजको सबैभन्दा जटिल समस्या भनेकै अहिले हामीलाई बैंकको बढ्दो व्याजदर र समय सीमाभित्र साँवा व्याज बुझाउने तीव्र ताकेता नै हो। अहिलेको परिस्थितिमा हामीले लिएको साँवाको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने हाम्रो जिम्मेवारी रहेको हुँदा यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा व्याज बुझाउन सक्षम नरहेको जानकारी गराइन्छ’ विज्ञप्तीमा भनिएको छ। कोरोनाले तहसनहस बनाएको होटल तथा पर्यटन उद्योग अहिले केही सहज देखिएता पनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक रूपमा घाटामा सञ्चालनमा रहेको छ। सन् २०१९ मा भन्डै १२ लाखको संख्यामा आएका पर्यटक यो वर्ष ५ लाख पुर्‍याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय सञ्चालन हुन सकेको छैन। कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको जारी युद्धको प्रभावले होटल क्षेत्र थप प्रभावित बन्यो।  त्यस्तै हाल डेंगुको प्रकोपले पर्यटनमा नकारात्मक असर पुर्‍याएको छ। पर्यटक आगमनको सिजनमा आसन्न निर्वाचनले समेत पर्यटक आगमन र गतिविधिलाई घटाउने निश्चित छ। कोभिडको समयमा मौद्रिक नीतिबाट अवलम्बन गरिएको केही सेवा सुविधा कोभिड लगायतका प्रकोपहरु जारी रहेकोले हालको समयमा पनि निरन्तरता दिइनुपर्ने संघको माग छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्