आयल निगम नाफामा जाँदा पनि पेट्रोलियमको मूल्य घटाउन मानेन

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल आयल निगमले नाफामा जाँदा पनि इन्धनको मूल्य घटाउन आलटाल गरिरहेको छ।दसैंभन्दा अघि भारतबाट आएको पेट्रोलियमको नयाँ मूल्यपछि निगम मासिक साढे एक अर्बभन्दामाथि नाफामा थियो। तर अक्टोबर १६ मा  इन्डियन आयल कर्पोरेशनले पठाएको पेट्रोलियममा नयाँ मूल्य बढेर आएकाले निगमको नाफा मासिक ७८ करोड रुपैयाँमा झरेको निगमले जनाएको छ। बढेर आएको नयाँ मूल्य सूचीअनुसार अब निगमलाई डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा नोक्सान हुने भएको छ। साथै १५ दिनमा निगमलाई ३९ करोड रुपैयाँ हुने भएको छ। यसैगरी पेट्रोल तथा हवाई इन्धनमा भने निगम अझै नाफामा छ। ग्यासमा प्रतिसिलिण्डर ३२५ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ। महँगीले सर्वसाधारणको ढाड सेकिरहेका बेला निगम भने आफ्नो नाफा बढाउने ध्याउन्नमा मात्र लागिरहेको छ। त्यही भएर उसले घटेको मूल्य सूची लुकाएर मूल्य तल झार्न नखोजेको हो। निगमले पहिलेको नोक्सानी भर्पाइ गर्न भन्दै भारतबाट इन्धनको मूल्य घटेर आउँदा पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न मानेको छैन। निगमले हाललाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साबिकको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय समेत गरेको छ। यस्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने घट्दो क्रममा छ। सोमबार ब्रेन्ट क्रुड आयलको मूल्य प्रति ब्यारल ९२ डलरमा झरेको छ। डेढ वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिँदा निगमले ५५ अर्ब गुमाएको थियो। निगमले यो अवधिमा तेल ल्याउनका लागि ४० अर्ब ऋण बोकिरहेको छ। ४० अर्बमध्ये झण्डै २५ अर्ब आइओसीलाई र १० अर्ब रुपैयाँ सरकार र वाणिज्य बैंकबाट ऋण लिएर तेल आपूर्ति गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्