कांग्रेसमा अब एक्काइसौं शताब्दीलाई बुझ्ने व्यक्ति आउनुपर्छ

Machchapuchchre

अर्थ राजनीति ~  नेपाली कांगे्रसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म संघीय राजधानी काठमाडौंमा हुँदैछ । साउन १६ गतेदेखि वडातहबाट नेतृत्व छनोट प्रक्रिया सुरु हुँदै भदौमा अधिवेशनले नयाँ नेतृत्व चुन्नेछ । त्यसै कारण हाल नेपाली कांग्रेसमा राजनीतिक गर्मागर्मी बढेको छ । केन्द्रमा पनि केन्द्रीय सभापतिको उम्मेदवार घोषणा गर्न गुटगत भेला चलिरहेका छन् । कोइराला परिवार आफ्नो विरासत कायम राख्न लागिपरेको छ भने शेरबहादुर देउवाले पनि पुनः सभापतिमा उम्मेदवारी दिने मनस्थिति बनाएका छन् । तर, युवापुस्ता र कांगे्रस शुभचिन्तक भने नेतृत्व परिवर्तन गर्ने पक्षमा वकालत गर्दै आइरहेका छन् । अधिकांश शुभचिन्तकमा नेतृत्व परिवर्तन गरी आउँदो चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्छ भन्ने मत देखिन्छ । तर, युवापुस्ता यो महाधिवेशनमा पहिलो पुस्तालाई नै अगाडि बढाई १५ औं महाधिवेशनमा नेतृत्व लिन तयार भएजस्तो देखिन्छ । पहिलो र दोस्रो पुस्ताका नेता पनि १५औं महाधिवेशन युवाको नेतृत्व हुने कुरामा स्पष्ट जस्तै देखिन्छन् ।अहिले नेपाली राजनीतिमा नेपाली कांग्रेसको महाधिवेशनको सन्दर्भलाई लिएर मुलुक तातेको छ । कांग्रेस लोकतान्त्रिक ठूलो शक्ति भएकाले अबको नेपाली कांग्रेस कस्तो होला ? कुन धारबाट अगाडि बढ्ला ? अनि नेतृत्व कस्तो आउला भन्ने आमचासोको विषय बनेको छ । त्यसैले पनि यो महाधिवेशन नेता–कार्यकर्ताभित्र मात्र नभई नेपालमा रहेका सबै दलका नेताहरूको नजरमा पनि छ । नेपाली कांग्रेस नेपालको यस्तो महत्वपूर्ण दल हो जसले उठाएका विचार, सिद्धान्त अनि राजनीतिक सोचले राष्ट्रिय राजनीतिमा गहिरो प्रभाव राख्छ । अहिले कांग्रेस सरकारमा छैन । चुनावी तालमेलमा समग्र रूपमा हार भएकै कारण कांग्रेस बाहिरिएको हो । यो अवस्था यो हारलाई कांग्रेसका समर्थक तथा कार्यकर्ताले सामान्य रूपमा पक्कै लिएका छैनन् । शुभेच्छुकहरूमा त्यतिबेलाको परिणामले निराशा पैदा गराएको थियो । अब फेरि यस्तो अवस्था आउन नदिन नेतृत्व चयनमाथि महाधिवेशन सचेत हुनु जरुरी देखिन्छ ।

अबको महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व कसले गर्ने भन्ने विषयलाई लिएर आन्तरिक विभाजन र अस्वस्थ प्रतिस्पर्धाको होडबाजी छ । लोकतान्त्रिक व्यवस्थामा गुट–उपगुट हुन्छ । यो अन्त्य हुन सक्दैन । पहिलेदेखि नै आन्तरिक विभाजन हुन थालेका कारण अहिले पनि यो बहस चर्चामा रहेको हो । सभापतिका लागि योग्य नेताहरू कांग्रेसमा धेरै हुनुहुन्छ । त्यसैले पनि आकांक्षी धेरै देखिएको हो । अहिलेको सन्दर्भमा भन्नैपर्दा फेरि पनि नेतृत्वका लागि गुटको खेल हुन्छ नै । आकांक्षी हुनु, उम्मेदवार हुनु अनि कुनै एक व्यक्ति चुनिएर नेतृत्वमा जानु महाधिवेशनको सामान्य पक्ष हो । नेतृत्वमा जो गए पनि पार्टीको हितका लागि उपयोग गर्न सक्ने हुनुपर्छ । अहिले सम्पूर्ण ध्यान तोकिएकै मितिमा वडादेखि केन्दसम्मको अधिवेशन र महाधिवेशन गर्नमै केन्द्रित छ । क्रियाशील सदस्यताको टुंगो लागिसकेपछि अधिवेशनको तयारीमा जुट्नेछ । अबको नेतृत्व परम्परावादी, म यति वर्ष जेलमा बसेको, आन्दोलनमा प्रहरीले कुटेको भनेर नेतृत्वमा पुग्ने अवस्था छैन । अहिले सूचना प्रविधिको युग हो । कसले देशलाई हाँक्न सक्छ भन्ने आमकार्यकर्ताले बुझिसकेका छन् । वडादेखि केन्द्रसम्मको नेतृत्व अहिलेको एक्काइसौं शताब्दीलाई बुझ्ने व्यक्ति आउनुपर्छ । सबै उमेर समूहलाई मिलाएर लान सक्ने क्षमता भएको व्यक्तिलाई अब नेतृत्वमा ल्याउनुपर्छ । अब आउने नेतृत्वले तीनै तहको निर्वाचनमा पार्टीलाई सानदार जित दिलाउनुपर्छ । अहिले मुलुक अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्