काठमाडौंमा मेलम्चीको पानी कम्तिमा एक वर्ष नआउने

Machchapuchchre

अर्थ राजनीति  ~  मेलम्चीको पानी राजधानीबासीको धारामा पुनः आउनका लागि कम्तिमा पनि एक वर्षभन्दा बढी समय लाग्ने भएको छ। फाष्ट ट्रयाकमा काम हुँदा समेत आयोजनाको पानी काठमाडौंमा वितरण गर्नका लागि कम्तिमा एक वर्ष लाग्ने देखिएको आयोजनाका एक साइट इन्जिनियरले बताए।’एकदमै राम्रो काम गर्ने कम्पनी पर्यो भने वर्ष दिनमा टनेलमा पानी हाल्न सकिन्छ कि भन्ने हाम्रो निष्कर्ष हो,’ ती इन्जिनियरले भने, ‘पहिले एउटा गेट भत्किदा त मर्मत भइसक्न नौ महिना लागेको थियो। यहाँ त पूरै हेडवर्क्स नै बाढीले पुरेको छ। केके भत्कियो केके बिग्रिएको छ भन्ने थाहा छैन, क्षतिको हिसाब हुन सकेको छैन।’ मेलम्चीमा बाढीले अर्ब रुपैयाँमाथिको क्षति भएको अनुमान गरिएको उनले बताए। मेलम्चीको पानी वितरण हुन थालेपछि केही राहत महशुस गरेका राजधानीबासीले अझै एक वर्ष पुनः पानी अभावको समस्या झेल्नुपर्ने भएको हो। असार १ गते हेलम्बु गाउँपालिकाको भेम्राथाङमा गएको पहिरोले थुनिएको बहाव खुलेर मेलम्ची खोलामा बाढी आएको थियो। बाढीका कारण आयोजनासम्म पुग्ने सडकसँगै तीनवटा बेलिब्रिज र दुई पक्की पुल बगाएको छ। आयोजनाको मुहानस्थल अम्बाथानमा रहेको कामदार बस्ने क्याम्प, उपकरण, निर्माण सामाग्री, पहुँच सडक, पुललगायत अन्य भौतिक संरचनाहरु समेत बगाएको आयोजनाले जनाएको छ। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) राजेन्द्र प्रसाद पन्तका अनुसार क्षतिको एकिन नै गर्न सकिएको छैन। ड्रोनबाट देखिएको भन्दा आयोजनामा वास्तविक क्षति बढी रहेको उनले बताए। आयोजनाको टोली सडक नभएपछि हिँडेरै आयोजनास्थल पुगेको थियो। उनीहरुले यस खानेपानी आयोजनामा ड्रोनबाट खिचेको भन्दा धेरै क्षति भएको बताएका छन्। बाढीले बगाएर ल्याएको तीन लाख घनमिटर माटो, बालुवा, ढुङ्गा निकाल्नुपर्ने अनुमान छ, जसले अहिले आयोजनाको हेडवर्क्स पूरै पुरेको छ। त्यहाँ रहेका उपकरण, क्याम्प, सामाग्री सबै गरि कुल सवा अर्ब रुपैयाँमाथिको क्षति पुगेको पन्तले बताए। उनका अनुसार वास्तविक क्षतिको अवस्था भित्र गएर सफा गरेपछि मात्रै हेर्न सकिन्छ। हेडवर्क्सको डाइभर्सन टनेलको अवस्था के छ भन्ने हेर्न बाँकी नै छ। साउन र भदौमा बाढीको सम्भावना हुने भएकाले असोजबाट अस्थायी पथान्तरण गर्न सकिन्छ कि भनेर सोचिरहेको उनको भनाइ छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्