नेपाललाई खोप उपलब्ध गराउन भन्दै बेलायतका सांसदद्वारा विदेशमन्त्रीलाई पत्र

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाललाई तत्काल खोप लगायत स्वास्थ्य सहायता उपलब्ध गराउन भन्दै बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् । नेपालमा कोरोना भाइरसको विस्तार विश्वकै उच्च गतिमा भइरहेको भन्दै उनीहरूले बेलायतका विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका हुन् । नेपालमा संक्रमितमध्ये भाइरसको इन्डियन भेरिएन्ट ९७ प्रतिशतमा देखिएको र द्रुतगतिमा फैलिँदै गरेको, स्वास्थ्य पूर्वाधार, अक्सिजनलगायतको अभाव भएको उल्लेख गर्दै उनीहरूले तत्कालै सहायताका लागि आग्रह गरेका हुन् । बेलायतका १६ जना सांसदका तर्फबाट सांसद क्रिस्टी ब्ल्याकमेनले तीन पृष्ठ लामो पत्र लेखेकी हुन् । उनले मंगलबार विदेशमन्त्रीलाई पठाएको पत्र ट्विटरमा सार्वजनिक गरेकी छिन् । उनीसहित पत्रमा माइक एम्सबेरी, सराह चम्पियन, एलन डोरान्स, प्याट्रिक ग्रेडी, निल हानभेई, क्रिस ल, क्यारोलिना लुकास, केन्नी म्याक्सअस्किल, स्टेवार्ट म्याकडोनाल्ड, क्यारोलिन नोक्स, टोमी सेपर्ड, जराह सुल्ताना, एलिसन थेल्विस, क्लाउडिया बेब्बे र माइक ह्वाइटको हस्ताक्षर छ । पत्रमा नेपालमा संक्रमित दर ५० प्रतिशतको आसपास रहेको, कतिपय समुदायमा ९० प्रतिशतमा पुगेको तथा कुल जनसंख्याको सात प्रतिशतले पहिलो डोज खोप पाएको र दुई डोज खोप लगाउनेहरूको संख्या दुई प्रतिशत आसपास मात्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले पत्रमा भनेका छन्, ‘यो स्थिति नेपालका लागि मात्र ठूलो प्रकोप होइन, कोभिड– १९ बाट निको हुने सन्दर्भमा विश्वका लागि नै जोखिम समेत हो ।’ संयुक्त राष्ट्रसंघले पनि दुई साताअघि नेपालमा कोभिडको नियन्त्रणका लागि आठ करोड ३७ लाख अमेरिकी डलर आवश्यक पर्ने घोषणा गरेको पनि स्मरण गरेका छन् । हाउस अफ लर्डस् र हाउस अफ कमन्समा पनि नेपालबारे छलफल भएको भन्दै सांसदहरूले आपत्कालीन बाहेकका सामग्रीका विषयमा सरकारको ध्यान गएको गुनासो गरेका छन् । भारतबाट कोभ्याक्स सुविधाको २० लाख डोज पनि पूरै नआएको तथा नेपालका लागि यो संख्या अपर्याप्त रहेको स्मरण गर्दै सांसदहरूले भनेका छन्, ‘यदि कोभ्याक्स सुविधाअन्तर्गत खोप दिन अहिले सकिन्न भने पनि नेपालका लागि बेलायत सरकारले बेग्लै अतिरिक्त प्रबन्ध गर्न नयाँ उपाय पत्ता लगाउनुपर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्