सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक राष्ट्रिय सभागृहमा सुरु

Machchapuchchre

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । राष्ट्रिय सभागृहमा भर्खरै सुरु भएको बैठकको अध्यक्षता नेकपा अध्यक्ष द्वय केपी ओली र प्रचण्डले गरेका छन् ।

बैठकको सुरुमै सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिमा लैजान सबै जुट्नुपर्ने बताएका छन् । बैठकमा सहभागिताका लागि अधिकांश केन्द्रीय सदस्य राष्ट्रियसभा गृहमा भेला भएका छन् । हाल नेकपा केन्द्रीय समिति ४ सय ४६ सदस्यीय छ ।

बैठकमा आजै अर्का अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दैछन् । यसअघि स्थायी समितिमा पेस गरिएको प्रतिवेदनलाई नै प्राप्त सुझावसहित पेस गर्न लागिएको हो ।

अध्यक्षले विभिन्न एजेन्डासहित पेस गर्ने प्रतिवेदन सदस्यलाई वितरण गरिने छ । वितरित प्रतिवेदनमाथि भने बिहीबारबाट मात्रै छलफल गर्ने तयारी नेकपाको छ । केन्द्रीय समिति जम्बो भएकाले केन्द्रीय सदस्यलाई समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गरिने बताइएको छ ।

मंगलबार बसेको नेकपाको सचिवालय बैठकले बैठकका एजेण्डासँगै कार्यविधि तय गरेको नेकपाका एक नेताले बताए । कार्यविधिको १ नम्बर बुँदा अनुसार बैठकसमक्ष कार्यसूची र कार्यविधि प्रस्तुत गरिएको छ । उक्त कार्यसूची र कार्यविधि पारित भएपछि सोहीअनुसार बैठक सञ्चालन गरिने उल्लेख छ ।

त्यस्तै, अध्यक्ष तथा महासचिवले प्रस्तुत गरेको राजनीतिक, साङ्गठानिक र विधान संशोधन प्रस्ताव उपर समुहगत रुपमा मात्रै छलफल गरिने नेकपाको कार्यविधिमा उल्लेख छ । छलफलका लागि वर्णानुक्रमअनुसार १५ वटा समुह बनाइने छ । ती प्रस्तावहरुमाथि माघ १६ गतेमात्र समुहगत रुपमा छलफल चलाइनेछ ।

त्यसैगरी माघ १७ र १८ गते समुह नेताहरुले आ–आफ्नो समुहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्नुपर्नेछ । त्यसो गर्दा केन्द्रीय निकायका अध्यक्षहरुले १० मिनेटमा आफ्नो विचार राखिसक्नुपर्नेछ । समुहगत रुपमा छलफलमा उठेका विषयहरुलाई माघ १९ गते निश्कर्षसहित प्रस्तुत गर्ने र दस्तावेजहरु पारित गर्ने कार्यविधिमा छ ।

त्यस्तै स्थायी कमिटी, सचिवालय र समसामयीक प्रस्तावहरुमा सोही दिन छलफल गरेर पारित गर्ने गरी कार्यविधि बनेको छ । त्यस्तै बैठकको समग्र कार्यवाहीको अडियो र भिडियो रेकर्ड गरिने छ । बैठक हरेक दिन बिहान ११ बजे सुरु भएर ५ बजे सकिनेछ । तर माघ १७ गतेको बैठक भने दिउँसो १ बजेमात्रै सुरु हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्