Artharajniti ~ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताएका छन् । नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँग आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको बताएका हुन् । मुलुकको आर्थिक विकास कुनै एक मन्त्रालय वा नीतिको एकल प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उनले यसका लागि ‘होल अफ द नेशन’ (एकीकृत राष्ट्रिय दृष्टिकोण) आवश्यक रहेको स्पष्ट पारे । सरकारले निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई विकासको अभिन्न साझेदारका रूपमा हेर्ने उनको भनाइ छ । ‘चालु आर्थिक वर्षको बजेटमार्फत हामीले स्पष्ट सन्देश दिएका छौँ कि सरकारको प्राथमिकता केवल कर सङ्कलन मात्र होइन । हाम्रो मुख्य लक्ष्य उत्पादन, लगानी, नाफा र पुनरलगानीको चक्रलाई तीव्र बनाउनु हो,’ उनले भने । उद्योगले कमाउने नाफाले पुनरलगानी बढाउने र त्यसबाट सिर्जना हुने रोजगारी र आम्दानीले अन्तत: राज्यको राजस्वमा योगदान पुग्ने भन्दै उनले सरकार र निजी क्षेत्रको सम्बन्ध परिपूरक रहेको उल्लेख गरे ।
वैध रूपमा गरिएको लगानी र आर्जन गरिएको मुनाफाको सुरक्षा गर्ने पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता उनले व्यक्त गरे ।‘नेपालमा वैध रूपमा सिर्जना गरिएको सम्पत्ति र नाफाको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व हो । लगानीकर्ताले नियमको स्थिरता र कर प्रणालीको पूर्वानुमानयोग्यतामा विश्वास गर्न सक्ने वातावरण निर्माण नभएसम्म ठूलो लगानी आउन सक्दैन,’ उनले भने । सो अवसरमा अर्थमन्त्रीले उद्यमीहरूलाई नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न र नयाँ प्रविधि भिर्त्याउँदै रोजगारीका अवसरहरू सिर्जना गर्न आग्रह पनि गरे । सरकारले विगतका समस्याहरूलाई सच्याउँदै लगानीमैत्री वातावरण बनाउन विशेष छुट र सुविधाहरू समेत घोषणा गरेको उनले स्मरण गरे । छलफलका क्रममा उनले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा, श्रम, पूर्वाधार र कानूनी प्रक्रियामा रहेका व्यवधानहरूबारे व्यवसायीहरूको प्रत्यक्ष अनुभव र सुझाव माग गरे । सरकारले आगामी ६ महिनाभित्र गर्नुपर्ने मुख्य सुधारका कार्यहरू पहिचान गरी समाधानको ठोस कार्यसूची (एक्सन प्लान) बनाएर अघि बढ्ने उनले जानकारी दिए ।



