Artharajniti ~ ग्लोबल आईएमई बैंकले नागरिक एपसँगको सहकार्यमा अनलाइनबाटै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सुरु गरेको छ । यससँगै नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन् । बैंकका अनुसार नागरिक एप प्रयोगकर्ताले एपमार्फत उपलब्ध क्यूआर कोड स्क्यान गरी ग्लोबल आईएमई बैंकको वेबसाइटमा प्रवेश गरेर खाता खोल्न सक्नेछन् । यस सेवाका लागि आवश्यक व्यक्तिगत विवरण ग्राहकको पूर्वसहमतिमा नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गरिनेछ । बैंकले यो सुविधा नेपालमै पहिलो पटक सुरु गरिएको दाबी गर्दै यसबाट खाता खोल्ने प्रक्रिया थप सहज, छिटो र प्रविधिमैत्री हुने जनाएको छ । व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने आवश्यकता हट्नुका साथै ग्राहकको गोपनीयता र सूचनाको सुरक्षा पनि सुनिश्चित हुने बैंकको भनाइ छ । यो सुविधा १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र बनाइसकेका र नागरिक एपमा आबद्ध नागरिकका लागि उपलब्ध हुनेछ । नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि भने ग्राहकले आफ्नो नजिकको शाखा कार्यालयमा गई वा भिडियो केवाईसी प्रक्रियामार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । बैंकका अनुसार सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो । नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप पारदर्शी र सहज बनाउनुका साथै ग्राहकलाई आधुनिक डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।



