Artharajniti ~ नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि बैंकले सोमबार १७९ दिनका लागि वित्तीय प्रणालीको ३० अर्ब खिच्न लागेको हो । केन्द्रीय बैंकले दैनिक स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बारम्बार अधिक तरलता व्यवस्थापनको प्रयास गर्दै आएको छ । केन्द्रीय बैंकसँग बैंक तथा वित्तीय संस्थाको १२ खर्ब ४ अर्ब रुपैयाँ छ । यो रकम केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेको पैसा परिपक्व हुने भएपछि त्यसलाई फेरि खिच्नका लागि निक्षेप संकलन उपकरण जारी भएको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् । निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।
वित्तीय प्रणालीको ३० अर्ब खिच्दै केन्द्रीय बैंक



