Artharajniti ~ बैंक तथा वित्तीय संस्थामा पुरानो कर्जा तिर्न नयाँ ऋण दिने अभ्यासले वास्तविक खराब कर्जाको आकार बाहिर नआएको स्पष्ट भएको छ । नेपाल राष्ट्र बैंकको सुपरीवेक्षणका क्रममा बैंकहरूले खराब कर्जा लुकाउन तथा पुरानो ऋण तिर्नका लागि नयाँ ऋण दिएको पाइएको हो ।केन्द्रीय बैंकका अनुसार हाल वाणिज्य बैंकहरूको खराब कर्जाको आकार वास्तविक नभएको सुपरीवेक्षणका क्रममा पहिचान भएको छ । केन्द्रीय बैंकको गत आर्थिक वर्षको सुपरीवेक्षण प्रतिवेदनअनुसार २ खर्ब २० अर्ब ३३ करोड रुपैयाँ बराबरको निष्क्रिय कर्जा रहेको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा २२.४० प्रतिशतले धेरै हो । आर्थिक वर्ष २०८१/८२ सो अवधिमा बैंकहरूको खराब कर्जा कुल कर्जाको ४.४ प्रतिशत छ। केन्द्रीय बैंकको स्थलगत निरीक्षणका क्रममा ऋणीले पुरानो ऋण तिर्न नसकेपछि बैंकहरूले असार मसान्त वा त्रैमासको अन्त्यमा नयाँ ऋण स्वीकृत गरेर पुरानो ऋण तिरेको देखाउने गरेको भेटिएको छ । केन्द्रीय बैंकका अनुसार बैंकहरूले कर्जा तिर्न कर्जा दिनुको मुख्य कारण भनेको खराब कर्जा लुकाउनु रहेको छ । ‘बैंकहरूले कर्जाका लागि कर्जा दिने अभ्यासले खराब कर्जा लुकेको राष्ट्र बैंकको ठहर छ,’ सुपरीवेक्षण प्रतिवेदनमा उल्लेख छ, ‘अहिले देखिएको बैंकहरूको खराब कर्जा वास्तविक होइन ।’ त्यसैगरी बैंकहरूको ऋण गलत प्रयोग गर्न दिएको निरीक्षणका क्रममा खुल्न आएको छ । ‘बैंकले जुन प्रयोजनका लागि ऋण दिएको हो, ऋणीले अर्कै काममा पैसा चलाउँदा पनि बैंकले बेवास्ता गरेको पाइयो,’ सुपरीवेक्षण प्रतिवेदनमा उल्लेख छ, ‘धेरैजसो ऋणको पैसा सञ्चालक वा सम्बद्ध व्यक्तिको खातामा सारिएको भेटियो ।’ धितो मूल्याङ्कनमा पनि बैंक तथा वित्तीय संस्थाले लापरबाही गरेको केन्द्रीय बैंकले भेटेको छ । स्थलगत निरीक्षणका क्रममा ऋण तिर्न नसकेर लिलामी प्रक्रियामा गइसकेका फाइलहरूलाई पनि ‘खराब कर्जा’ मा वर्गीकरण नगरेको केन्द्रीय बैंकले पत्ता लगाएको छ । साथै बैंकहरूमा आन्तरिक लेखापरीक्षणमा कमजोरी रहेको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ ।
ऋण तिर्न कर्जा दिँदा लुक्यो खराब कर्जा



