राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि माघ ७ देखि ११ गतेसम्म निर्वाचन हुने

Machchapuchchre

काठमाडौं । राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा सोमबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नका लागि आयोगले सोमबार नै सरकारसँग परामर्श पेश गर्न लागेको राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिए ।

निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सदस्यको आगामी फानुन २० गतेबाट पदावधि सकिँदैछ । तीमध्ये १८ जनाको निर्वाचनका माध्यमबाट चयन हुनेछ भने एक सदस्यको सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत गर्ने व्यवस्था छ । पदावधि सकिनु ३५ दिनअघि नै सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यक्रम पूरा गर्नुपर्छ भन्ने कानूनी व्यवस्था छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, निर्वाचनका लागि कम्तीमा पनि ३५/४० दिन तयारीका लागि समय लाग्ने हुँदा सरकारलाई त्यही अनुसारले माघको ७ देखि ११ गतेभित्र निर्वाचनका लागि मिति घोषणा गर्न परामर्श दिन लागेका हौँ, आयोगमा दर्ता भएका कुनै पनि दललाई सानो वा ठूलो भनेर हेरिएको अवस्था छैन, सबैप्रति समान व्यवहार गर्न/गराउन प्रतिबद्ध छौं ।’

यो निर्वाचनबाट महिला ७, दलित २, अल्पसङ्ख्यक २ र अन्यबाट सात जनाको चयन हुनेछ । निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचन मण्डल रहनेछ ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपनिर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगप्रति धन्यवाद ज्ञापन गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि सरकार र नेकपाका तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । नेपाली काँग्रेसका युवानेता सुरेन्द्रराज पाण्डेले नतिजाको पूर्वानुमान गर्न सकिने राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सहयोगको वचन दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्