घर र गाडी कर्जामा बैंकहरुले ब्याजदर बढाउन नपाउने, यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था

Machchapuchchre

अर्थ राजनीति ~  नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत आवधिक कर्जाका ब्याजदर परिवर्तन गर्न पाउने छैनन् ।  घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एकीकृत निर्देशनमार्फत सो व्यवस्था गरेको हो । यसको अर्थ ग्राहकले ऋण लिँदाको बखत जति ब्याजदर तय भएको सोही दर नै कर्जाको परिपक्वको अवधिभर लागू हुनेछ । बैंक तथा वित्तीय संस्थाले सुरुमा सस्तो दरमा कर्जा प्रवाह गर्ने तर, केही महिना भित्रैमा ब्याजदर बढाएर महँगो बनाउने प्रवृति बढिरहेको बेला राष्ट्र बैंकले यो व्यवस्था ल्याएको हो ।

‘एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नु पर्नेछ,’ निर्देशनमा उल्लेख छ, ‘यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधीभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्नेछ ।’ तर, ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न पाउनेछन् ।

यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका/हुने घर कर्जा, गाडी कर्जा लगायतका मासीक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका/हुने एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

यो निर्देशन जारी हुनुपूर्व मासिक/त्रैमासिक/आवधिक किस्तामा भुक्तानी हुने गरी ब्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा लगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थीर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरु परिवर्तन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्