Artharajniti ~ नेपाली कांग्रेसको संस्थापन पक्षले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई पार्टी एकताका लागि आह्वान गरेको छ। निर्वाचन आयोगले मङ्गलबार १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई अद्यावधिक गरेको जानकारी बुधबार बाहिरिएपछि शीर्ष नेताहरूले देउवा समूहका नेताहरूलाई एकताको आह्वान गरेका हुन्। तथापि सभापति थापाबाट भने यस्तो औपचारिक आह्वान भएको छैन। सामाजिक सञ्जालमार्फत वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री डा. डिला सङ्ग्रौला ‘पन्त’ सहितका नेताहरूले एकताका लागि आह्वान गरेका हुन्। आयोगले अद्यावधिक गरेको जानकारी सार्वजनिक हुनुअघि नै सभापति गगन थापाले मंगलबार केन्द्रीय कार्यसमितिको बैठक सुरु गर्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू समानान्तर गतिविधिमा सामेल भए विधानअनुसार अघि बढ्ने चेतावनी दिएका थिए।
संस्थापनको एकता आह्वान देउवा समूहद्वारा अस्वीकार
‘कांग्रेसको विधानले कुनै व्यक्ति पार्टीको चुनाव चिह्न लिएर लडेको छ र ऊ अर्को पार्टीमा लाग्छ भने ऊ कांग्रेसको सदस्य कायम रहँदैन। त्यसैले म आह्वान गर्छु– तपाईं राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा वा स्थानीय तहमा हुनुहुन्छ भने अधिवेशनमा आउनुभयो वा आउनुभएन फरक पर्दैन,’ सभापति थापाले बैठक आरम्भ गर्दै भनेका थिए, ‘तर, तपाईंले कांग्रेस छाडेर अर्को नयाँ पार्टीमा जानुभयो भने तपाईं जुन सभामा हुनुहुन्छ, त्यहाँबाट राजीनामा गर्नुहोला; गर्नुभएन भने विधानअनुसार हुन्छ। विधान कार्यान्वयन गर्नु मेरो जिम्मेवारी हो।तर, आयोगबाट कार्यसमिति अद्यावधिक भएको विषय बाहिर आएपछि भने संस्थापनका अन्य नेताहरूले एकताको आह्वान गरेका हुन्। बुधबार साँझ वरिष्ठ उपसभापति शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी सबैलाई एकताबद्ध हुन आग्रह गरे। शर्माले प्रतिक्रिया दिएर मात्र समस्या समाधान नहुने भन्दै पार्टीभित्रै कमजोरीको गम्भीर समीक्षा गर्न र सबैलाई मूल बाटोमा फर्किन आग्रह गरेका हुन्। उनले विधि, विधान, पद्धति, प्रवृत्ति, प्रक्रिया, परिस्थिति, मनस्थिति र समय नै अहिलेको मुख्य प्रश्न भएको उल्लेख गरेका छन्। उनले अहिलेको विषय नेपाली कांग्रेसको मात्र नभई देशकै भएको जिकिर गर्दै सबैलाई एकताबद्ध हुन आग्रह गरेका छन्, ‘आखिर हामी सबै जान्दछौँ– प्रश्न यहाँ कांग्रेसको होइन, प्रश्न देशको छ।’



