नेकपा विवाद: लम्बिँदाे संवादहीनता, आरोप प्रत्यारोप, कार्यकर्तामा अन्योल

Machchapuchchre

अर्थ राजनिती ~ पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच साउन २० यता संवाद हुन सकेको छैन । वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल पनि आन्तरिक छलफलमा सक्रियता देखिए पनि नेतृत्वसँग उहाँहरूको पनि संवाद भएको पाइँदैन । यसैबीच पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र स्थायी कमिटी सदस्य विष्णु रिमालबीच सामाजिक सञ्जाल मार्फत आरोप प्रत्यारोप हुन थालेपछि त्यसले गुटबीचमा अझ दूरी बढाएको आँकलन कार्यकर्ताहरूले गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अहिले शीर्ष तहमा संवादविहीनताको अवस्था छ । ‘कोभिड १९ सङ्क्रमणकै कारण हो कि ! त्यसलाई बहाना बनाएर नेताहरू आन्तरिक गुट छलफलमा व्यस्त भएर हो’ चिन्ता नेतामाझ देखिन थालेको छ । कोरोना सङ्क्रमण व्यापकरुपमा फैलिन थालेपछि केही शीर्ष नेताहरूले परीक्षण गराई ‘होम क्वारेन्टाइन’मा बस्नुभएको छ ।
सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा समेत कोरोना परीक्षण ‘पोजिटिभ’ देखिएपछि नेताहरू झन त्रसित हुनुभएको सचिवालयका सदस्यहरूको बुझाई छ । तर गुट छलफललाई आन्तरिक रुपमा तिव्रता दिनुले भने केही नेता र कार्यकर्तालाई आश्चर्यमा पारिरहेको छ । पार्टी भित्रको आन्तरिक समस्या नेतृत्व तहमै संवाद र छलफल गरेर समाधान गर्नुपर्ने माग नेताहरूको छ । तर दुई अध्यक्षबीचको संवादले न गति लिन सकेको छ, न ठोस सहमतिको उपाय ‘पकड्न’ सकेको छ । गत असार १० गतेबाट शुरुभएको स्थायी कमिटीको बैठक केही दिन बसेर स्थगित छ । बैठकका एजेण्डा पनि ओझेलमा परे । दुई अध्यक्षबीच कुरा मिलेपछि बैठकले निरन्तरता पाउने आशा नेताहरूमा भएपनि दुई अध्यक्षबीच सहमति बन्न नसक्दा सचिवालय र स्थायी कमिटीको बैठक दुवै अन्यौलमा छ ।
केही नेताहरूले केन्द्रीय कमिटी बैठकको माग राखेपनि त्यसको सुनुवाई भएको छैन । हस्ताक्षर अभियानले गति लिएन ‘पार्टी फुटको अवस्थामा पुगेको’ आँकलन नेता तथा कार्यकर्ता तहमा पुगेपछि त्यसलाई जोगाउन नेकपाका सांसदहरूले हस्ताक्षरको अभियान शुरु गरे । नेकपाका कुल १७४ सांसदमध्ये पहिलो चरणमा ६१ जनाले हस्ताक्षर गरे । सांसदहरूले गत आइतबार हस्ताक्षरसहितको पत्रकार सम्मेलन पनि गरे । तर हस्ताक्षर अभियानले गति लिन सकेन ।

दुई अध्यक्षबीच विमति बढेपछि सहमतिको उपायसहित पार्टी उपाध्यक्ष वामदेव गौतमले साउन १३ गते छ बुँदे प्रस्ताव ल्याउनुभयो । त्यो प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक देखिनु भए पनि त्यो सूत्रले पनि काम गरेन । पार्टी एकता जोगाउन आफूले बीचको प्रस्ताव ल्याएको उपाध्यक्ष गौतमले प्रष्ट पार्नु भएपनि प्रस्तावमाथि दुई अध्यक्षबीच छलफल हुन सकेन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्