उपत्यकामा खतराको घन्टी; उच्च सतर्कता अपनाउन अतिआबस्यक !

Machchapuchchre

अर्थ राजनीति ~  काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ ।

महाबौद्ध क्षेत्रमा व्यापार गर्ने एकै परिवारका पाँच सदस्यमा शनिबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । काठमाडौंको महावौद्ध त्यस्तो ठाउँ हो, जहाँ होलसेल पसल प्रशस्त छन् र उपत्यकाका विभिन्न स्थानका व्यापारी ती होलसेलमा सामान किन्न जान्छन् ।

मंगलबार नेपाल प्रहरीको हेडक्वार्टर, नक्सालमा कार्यरत २३ जनामा कोरोना संक्रमण पुष्टि भयो । आइतबार मात्र प्रहरी हेडक्वार्टरमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुकै सम्पर्कमा आएकाहरुको खोजी गर्दा थप २३ जनामा संक्रमण देखिएको हो । तर, यति ठूलो संख्यामा प्रहरी कसरी संक्रमित भए भन्ने पत्ता लागिसकेको छैन ।

केन्द्रीय राजधानी काठमाडौमै संकट देखिइसक्दा पनि यसमा स्वास्थ्य मन्त्रालयको पर्याप्त नजर पर्न सकेको छैन ।

मानिसहरुको आवत–जावतलाई व्यवस्थित बनाउनुपर्ने गृहलगायत सरोकारावाला मन्त्रालयले पनि कोरोना संक्रमणको जोखिमबारे उचित ध्यान दिएको देखिँदैन ।सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च सतर्कता अपनाउन सीएमसीले सरोकारवालालाई आग्रह गरेको हो । यहाँका उद्योग धन्दा, कलकारखाना र सबै कार्यालय सुचारु हुँदा विभिन्न जिल्लाबाट मजदुर आउने क्रम बढेसँगै कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भएको सीएमसीको बुझाइ छ ।
काठमाडौँ, सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)का सल्लाहकार एवं काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले उपत्यका प्रवेश गर्ने व्यक्तिलाई उच्च निगरानी राख्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरिएको बताउनुभयो । उहाँले उपत्यकामा कोरोना समुदायमा फैलिए भयावह हुने भएकाले भारतबाट आउने नागरिकको अनिवार्य पीसीआर परीक्षण गराएर मात्र प्रवेश गर्न दिनुपर्ने व्यवस्था कार्यान्वयन गराउनुपर्ने बताउनुभयो । उपत्यकामा प्रवेश गर्ने व्यक्तिको मोबाइल नम्बर समेतको विवरण प्रत्येक नाकाबाट दैनिक रूपमा जिल्ला प्रशासन र प्रहरीमार्फत अनिवार्य रूपमा उपलब्ध गराउने व्यवस्था गर्नेमा जोड दिइएको छ । बन्दाबन्दी खुलेसँगै उपत्यकामा सवारीसाधन र विभिन्न स्थानमा भीडभाड बढ्दै जान थालेकाले सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र सरसफाइ गर्ने काममा सबैले जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्