बामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री

Machchapuchchre

अर्थ राजनीति ~   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली छलफलका लागि पार्टी उपाध्यक्ष बामदेव गौतम निवास भैसेपाटी पुग्नुभएको छ । पार्टीभित्र चुलिएको विवाद सल्टाउन ६ बुँदे मध्यमार्गी प्रस्ताव गौतमले सोमबार राख्नुभएपछि थप छलफल गर्न प्रम ओली साँझ ८ बजे गौतम निवास पुग्नुुभएको स्रोतले बताएको छ ।
आज सोमबार विहान ११ बजे पूर्व निर्धारित नेकपा स्थायी कमिटी बैठक अध्यक्ष ओलीले स्थगन गर्नु भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै अध्यक्षतामा स्थायी कमिटी बैठक सुचारु गर्नुभएकाे थियाे। नेता गौतमले राख्नुभएको प्रस्तावअनुसार प्रम ओलीलाई पुरै कार्यकाल प्रधानमन्त्री हुन पाउनुपर्ने, अध्यक्ष पदबाट पनि हटाउन नहुने तर सरकारले राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वको विषयमा निर्णय गर्दा सचिवालयसँग परामर्श लिनुपर्ने प्रस्ताव राख्नुभएको थियो ।
बालुवाटारमा बसेको प्रचण्ड पक्षीय स्थायी कमिटी बैठकमा आफ्नो प्रस्ताव प्रस्तुत गरेर नेता गौतम बाहिरिनुभएको थियो । पार्टी फुटको अवस्थामा जान नहुने, त्यस्तो अवस्था आउने दुवै पक्षको बैठकमा आफू सहभागी नहुने घोषणा उपाध्यक्ष गौतमले विहान गर्नुभएको थियो ।
उपाध्यक्ष गौतमको सो प्रस्ताव अहिले जारी पार्टीको विवाद सल्टाउन ‘अचुक अस्त्र’ हुने पार्टीका नेताहरुको प्रतिक्रिया छ । उहाँको छ बुँदे प्रस्ताव सामाजिक सञ्जाल तथा न्यूमिडियामा राम्रो प्रतिक्रिया पाइरहेको छ ।
उपाध्यक्ष गौतमको प्रस्तावलाई सकारात्मकरुपमा लिनुभएका प्रधानमन्त्री ओली थप प्रस्तावसहित गौतम निवास पुग्नुभएको भैसेपाटी स्रोतले बताएको छ । अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच छलफल जारी छ । अध्यक्ष ओलीसँगै महासचिव विष्णु पौडेलको समेत सहभागीता रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्