नेता थापा कांग्रेस प्रवेश गर्ने चर्चा, राप्रपाबाट थापासहित ३१ जनाको राजीनामा

Machchapuchchre

अर्थ राजनीति ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत,  किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र  राम पदारथ शाह छन् ।
राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनुपरेको उनीहरुले संयुक्त राजीनामा उल्लेख गरेका छन् । राजीनामा पत्रमा भनिएको छ, नेतृत्वको ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको, स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रतिको आमरुपमा विश्वास समाप्त भएको र पार्टी दिशाहीन बनेको छ ।

उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने उल्लेख गर्दै उहाँहरुले आजकै मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गरेका छन् । राजीनामा दिनेमा सो पार्टीका १२ केन्द्रीय सदस्य छन् ।

राप्रपा नेता मोहन श्रेष्ठले थापाले पार्टी परित्याग गरेर गम्भीर राजनीतिक भूल गरेको श्रेष्ठले बताए । उनले भने,’उहाँले आफ्‍ना बुवाको विरासतलाई निरन्तरता दिनबाट चुक्नु भएको छ । पार्टी छाडेर उहाँले गम्भीर राजनीतिक भूल गर्नुभएको छ ।’

थापा राप्रपाका केन्द्रीयस्तरका नेता हुन् । नेता थापा कांग्रेस प्रवेश गर्ने चर्चा चलिरहेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्