सार्वजनिक सवारीसाधन कहिले देखि सुचारु…कस्तो तयारी भईरहेको छ त ?

Machchapuchchre

अर्थ राजनीति ~ सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने विभागले जनाएको छ । तर सार्वजनिक यातायात कहिलेदेखि सञ्चालन गर्ने भन्ने कुराको टुङ्गो सरकारले नगर्दा अन्योल रहेको विभागले जनाएको छ । सञ्चालन गर्ने वा नगर्ने भन्ने कुराको कुनै जानकारी विभागलाई दिइएको छैन तर बन्दाबन्दी बिस्तारै खुकुलो बनाउँदै गएपछि यातायात पनि सञ्चालन हुन्छ होला भन्ने अनुमानले विभागले काम गरिरहेको छ । हालकै अवस्थामा सार्वजनिक यातायात सञ्चालन गर्नुपरे कसरी गर्ने भनेर विभागले नयाँ निर्देशिका तयार गरेको हो तर यातायात व्यवसायीले नयाँ निर्देशिकामा असहमति जनाएपछि छलफल लम्बिएको हो ।
सरकारले सार्वजनिक सवारी सञ्चालन गर्ने मिति घोषणा नगरेका कारण विभाग अन्योलमा छ । निर्देशिका कार्यान्वयनका लागि विभागले यातायात व्यवसायीसहितको उपसमिति बनाएर छलफल गरिरहेको छ ।
नयाँ निर्देशिकामा कोरोनाबाट सुरक्षित रहेर सवारी सञ्चालन गर्नुपर्ने प्रावधान छन् । सुरक्षित रहन प्राविधिक मापदण्ड बनाइएको छ । सार्वजनिक सवारी सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, सबै सिटमा यात्रु राख्न नपाइने, मास्क, पञ्जा तथा सेनिटाइजरको प्रयोग अनिवार्य गरिने छ । साथै यात्रुको ज्वरो नाप्नेसम्मका प्रावधान छन ।
तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सामाजिक दूरी कायम गर्न बसमा आधा मान्छे लिएर गुडेपछि आफूहरूको खर्चसमेत नउठ्ने जनाएको छ । त्यसका लागि सरकारले भाडा वृद्धि गर्नुपर्ने वा कुनै अनुदानको व्यवस्था गर्नुपर्ने महासङ्घको माग छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्