रौतहटमा मङ्गलबार २२ जनामा कोरोना संक्रमित थपिए; सम्पूर्ण भारतबाट आएका

Machchapuchchre

अर्थ राजनीति ~ रौतहटमा मङ्गलबार फेरि २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् ।
गौर नगरपालिकामा पहिलो पटक सात, देवाही गोनाही नगरपालिकामा तीन र राजदेवी नगरपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको छ भने बाँकी सङ्क्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

उहाँले रौतहटबाट करिब ११ सयको स्वाब सङ्कलन गरी केन्द्रिय प्रयोगशाला टेकुमा पठाइएको र परीक्षण रिर्पोट आउने क्रम जारी रहेको बताउनुभयो । सङ्क्रमण पुष्टि भएकाहरू सबैजना भारतबाट नै आएको समेत उहाँले बताउनुभयो ।

मङ्गलबार सङ्क्रमण पुष्टि भएकामा तीन जना बालबालिका समेत छन् । जिल्लामा २२ जना सङ्क्रमित फेला परेको प्रजिअ घिमिरेले पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले यसबारे अझै केही भनेको छैन ।

सङ्क्रमण पुष्टि भएका सबै जना हाल क्वारेन्टाइनमा रहेका छन् ।

यसअघि सोमबार मात्रै रौतहटको राजपुर र ईशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकामध्ये २६ जना सङ्क्रमित भेटिएका थिए । योसँगै रौतहटमा सङ्क्रमित हुनेको सङ्ख्या ७० पुगेको छ ।
यसैबिच पछिल्लो समय भारतबाट आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

भारत सरकारले आप्रवासी मजदुरलाई विशेष रेलमार्फत गन्तव्यसम्म पुर्याउन थालेपछि रौतहट लगायत सिमानासँग जोडिएका जिल्लाहरूमा आउनेको सङ्ख्या बढदै गएको छ ।
भारतबाट आउनेहरूबाट कोरोना भाइरसको सङ्क्रमणको जोखिम भएकाले रौतहटका प्रजिअ वासुदेव घिमिरेले जिल्लाको १८ वटै स्थानीय तहमा थप पाँच–पाँचसय बेडको क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिनुभएको छ ।

भारतबाट आउने नेपालीको सङ्ख्या बढ्दै गएपछि स्थानीय तहले क्वारेन्टाइन बनाएर राख्न थालेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्