बैंकका सम्पूर्ण शाखा आइतबारदेखि खुल्ने

Machchapuchchre

अर्थ राजनीति — बैंक तथा वित्तीय संस्थाका सबै शाखा आइतबारदेखि सञ्चालन हुँदै छन् । चैत ११ देखि सरकारले लकडाउन घोषणा गरेपछि उनीहरुले सीमित शाखाबाट दैनिक २/३ घण्टा मात्र सेवा दिइरहेका थिए । लकडाउनको अवधिमा खुलेका बैंकका शाखामा पनि निकै न्यून मात्र ग्राहक आउने गरेका थिए ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेवाग्राहीको भीड नहुने गरी सेवा प्रवाह गर्न निर्देशन दिएको छ । एकतिहाइ कर्मचारीबाट मात्र सेवा सञ्चालन गर्नुपर्ने, आपसी दूरी कायम गर्ने, घरबाटै काम गर्ने, आलोपालो लगाउनुपर्नेलगायत विकल्प अपनाउन पनि राष्ट्र बैंकले सुझाएको छ ।

‘बैकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति वा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपाय अनिवार्य रुपमा अवलम्बन गर्ने,’ निर्देशनमा भनिएको छ । बैंकिङ सेवा प्रवाह गर्न आवश्यक सवारीसाधनको हकमा सम्बन्धित संस्थामा रहेका सवारीसाधन बढीमा २५ प्रतिशत मात्र चलाउन पनि भनिएको छ । त्यसका लागि सम्बन्धित बैंकको केन्द्रीय कार्यालयले पास उपलब्ध गराउनुपर्नेछ । जसमा सवारी नम्बर, सवारी उपयोग गर्नेको नाम, जानु–आउनुपर्ने स्थान तथा समय तोक्नुपर्नेछ ।

पूर्वसावधानी अपनाएर मात्र बैंक खुल्ने बैंकर्स संघले बताएको छ । सरकारको निर्देशनअनुसार सुरक्षा व्यवस्था मिलाएर एकतिहाइ कर्मचारीबाटै बैंक सञ्चालन गरिने संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । सरकारले उत्पादनमूलक उद्योग व्यवसाय सञ्चालन अनुमति दिएकाले बैंकिङ कारोबार बिस्तारै बढ्ने संघको भनाइ छ । सबै शाखा आइतबारदेखि खुले पनि लकडाउनका कारण ग्राहकको सहज आवतजावत नहुने भएकाले कारोबार धेरै नहुने बैंकरहरुको अनुमान छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्