याद गर्नुहोस् ! अब पास बनाउँदैमा उपत्यका छिर्न पाइन्न !

Machchapuchchre

अर्थ राजनीति – सवारी पास बनाएर उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ भने तपाइको सोच गलत साबित हुदै छ । किनकि पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा वा अन्य कुनै नाकाबाटै फर्कनु पर्ने हुनसक्छ ।

दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यका भित्रिन निषेध गरिएको छ । यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो । अब भने पासबाहक गाडीलाई समेत धमाधम फर्काउन थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पास भएकालाई पनि अब अत्यावश्यकबाहेक प्रवेश रोकिएको बताउनुभयो । “दैनिक उपभोग्य सामग्रीसँग र स्वास्थ्य उपचारसँग जोडिएका सवारी आउन पाउँछन्, त्यसबाहेक पास लिएर आए पनि सवारी भित्रिन पूर्ण निशेष छ ।”

विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार ५०० हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै ४०० सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् । अत्यावश्यक सावारीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्तिहरु बाहिरिने गर्दैनन् । त्यसैले पनि कडाइ गरिएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान समयमा अत्यावश्यक कामबाहेक बाहिर निस्कने अवस्था अहिले होइन । घरमै बस्ने, सामाजिक दूरी कायम गर्ने र साबुन पानीले हात धुने गर्नुपर्छ । तर, बजारमा धेरै मानिस बिभिन्न बहानाबाजी गरेर, पासको दुरुपयोग गरेर हुन्छ या त झुटा विवरण पेश गरेर पास लिने र निस्कने अवस्था छ । त्यसलाई रोक्न प्रहरीले पासमा कडाइ गरेको हो ।

अनावश्यकरुपमा पास लिएर एक जिल्लाबाट अर्का जिल्ला र एक प्रदेशबाट अर्काे प्रदेशमा आवतजावत बढ्न थालेसँगै सङ्घीय राजधानी काठमाडौँमा पनि बाहिरी जिल्लाबाट गाडीको चाप बढ्न थालेको प्रहरीको निष्कर्ष छ । जिल्ला जिल्लामा पास बढी बाँड्दा पनि समस्या देखिएकाले अब उप्रान्त त्यस्ता गाडीले उपत्यका छिर्न अनुमति पाउने छैन ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्