कोरोनामुक्त भएको भनिएका युवक पुनः अस्पताल भर्ना

Machchapuchchre

वीरगञ्जस्थित नारायणी अस्पतालमा बैशाख २ गते भर्ना भई उपचार गराएर वैशाख १४ गते कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवक पुनः उपचारका लागि नारायणी अस्पतालमा नै भर्ना भएका छन् ।
कोरोनामुक्त भएको भनी डिस्चार्ज भई घरमा बसोवास गर्दै आएका रौतहटको इशानाथ नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय बच्चा अन्सारी डिस्चार्ज भएको एक सातापछि पुनः उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।
नारायणी अस्पतालको आइशोलेनशमा १२ दिनसम्म उपचार गराएका अन्सारीको पीसीआर परीक्षणको तेश्रो , चौथो र पाचौँ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले बैशाख १४ गते उनलाई डिस्जार्च गरी घर पठाईएको तर पछि क्रस चेक गर्दा अन्सारीको रिपोर्ट शंकास्पद देखिएपछि पुनः अस्पतालमा ल्याएर आइशोलेनशमा राखी उपचार सुरु गरिएको अस्पताल स्रोतले जानकारी गराएको छ ।
अस्पताल स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा क्रस चेक गर्दा अन्सारीको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालका स्वास्थ्यकर्मीले गत बुधबार उनको घरमै पुगेर स्वाब संकलन गरी पठाएको स्वाबको रिपोर्ट पनि पोजेटिभ आएपछि अन्सारीलाई शनिबार राति अस्पतालमा ल्याइएको हो ।
अस्पताल ल्याएपछि शनिबार राती नै पुनः उनको स्बाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाईएको छ । अस्पतालले शनिबार नै अन्सारीसँगै बैशाख १४ मा डिस्चार्ज गरिएका वीरगञ्जका अन्य तीन जना भारतीय नागरिकको स्बावको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि काठमाडौं पठाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्