लकडाउन खुकुलो पार्दै, पूर्ण रुपमा खोल्न सरकारलाई संसदीय समितिको निर्देशन

Machchapuchchre

लकडाउनलाई सतर्कताका साथ खुकुलो बनाउँदै पूर्ण रूपमा खोल्न संसदीय समितिले सरकालाई निर्देशन दिएको छ । लामो समयसम्म बन्दाबन्दी हुँदा त्यसले जनजीवन अस्तव्यस्त पार्ने स्थितिलाई मध्यनजर गर्नुपर्नेमा समितिको जोड छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले हरेक परिवारबाट एकजनाको नमुना छनाेट गरी कोरोना परीक्षण गर्न पनि निर्देश गरेको छ । कोरोना परीक्षण कम भइरहेको गुनासो आइरहँदा परीक्षणको दायरा फराकिलो पार्न भनिएको छ । साथै, स्वास्थ्य सामग्रीको भण्डारणलाई प्राथमिकतामा राखेर सबै स्थानीय तहमा आवश्यक व्यवस्थापन गर्न समितिले सुझाब दिएको छ ।

देशको विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरूलाई आफ्नो घर फर्काउने प्रबन्ध मिलाउनसमेत सरकारलाई समितिको निर्देशन छ । ‘नेपाल भारतको सीमावर्ती क्षेत्रहरुमा आएर बसेका नेपाली नागरिकहरू तथा देशका अन्य क्षेत्रमा रहेका नागरिकहरूलाई कोभिड– १९ नियन्त्रणसम्बन्धी विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको सर्तको पालना गरी व्यवस्थित रूपमा आफ्नो घर फर्कने प्रबन्ध मिलाउन आवश्यक पहल गर्नू,’ समितिले भनेको छ ।

लकडाउनको समयमा कोरोनाबाट अतिविपन्न तथा न्यून आय भएका एवं दैनिक ज्यालादारीमा काम गरी जीविकोपार्जन गर्दै आएका मजदुर र किसानहरूको समस्यालाई यथाशीघ्र सम्बोधन गर्नुपर्नेमा समितिले सरकारको ध्यानाकर्षण गराएको छ । त्यसका लागि उपयुक्त राहतको व्यवस्था गर्नुपर्ने उल्लेख छ । त्यस्तै, महामारीसँग लडिरहेका वेला जनविश्वासलाई मध्यनजर गर्दै कुनै पनि काम पारदर्शी तवरले सञ्चालन गर्न सरकारलाई सजग गराइएको छ । भनिएको छ, ‘छिटो विधि र प्रक्रियाबाट गरिने खरिदसम्बन्धी व्यवस्थालाई सरलीकृत गरी खरिदसम्बन्धी कार्यलाई पारदर्शी बनाउनू।’

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्