रसुवाको एक र मकवानपुरका दुई स्थानमा एकिकृत बस्ती निर्माण गर्ने योजना स्वीकृत

Machchapuchchre

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रसुवाको एउटा र मकवानपुरका दुईवटा एकीकृत वस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । प्राधिकरणको कार्यकारी समिति बैठकले रसुवाको आमा छोदिङमो–२ को सानो हाकु टोलका ४६ विस्थापित घरधुरीलाई सोही गाउँपालिकाको पाङलिङमा प्राधिकरणको अनुदान रकमबाट जग्गा खरिद गरी ५१ घरधुरी एकीकृत वस्ती विकास गर्ने प्रारम्भिक योजना स्वीकृत गरेको हो ।

त्यो प्रारम्भिक योजनामा थप ५ जग्गाधनी मिलाउने प्राधिकरणको योजना छ । त्यसैगरी, मकवानपुर जिल्लाका राक्सिराङ र कैशाल गाउँपालिकामा बन्ने एकीकृत वस्तीहरुका प्रारम्भिक योजना पनि प्रधिकरण कार्यकारी बैठकले स्वीकृत गरेको छ । राक्सिराङ–५ को चुरिडाँडाटोलका १० भूकम्प पीडित घरधुरीले मनहरी गाउँपालिका–६ को जोगीतालमा एकीकृत वस्ती विकास गर्ने योजना बैठकबाट स्वीकृत भएको हो । त्यस्तै, कैशाल–१० को न्याम्सेढुंगा टोलका १० भूकम्प पीडित घरधुरीलाई सोही वडाको वमलटारमा एकीकृत वस्ती विकास गरिनेछ ।

प्राधिकरणले एकीकृत वस्तीमा भौतिक पूर्वाधारका लागि अलग्गै प्रति घरधुरीका दरले रकम उपलब्ध गराउने प्राधिकरणको सूचना शाखाले जनाएको छ । प्राधिकरणले हिमाली जिल्लामा बन्ने एकीकृत वस्तीका लागि प्रति घर ५ लाख, पहाडी जिल्लामा बन्ने बस्तीका लागि प्रति घर ४ लाख र तराईका जिल्लामा बन्ने वस्तीका लागि प्रति घर ३ लाखका दरले एकमुष्ठ रकम उपलब्ध गराउँछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्