प्रधानमन्त्री ओलीले अस्पतालबाट भने– ‘म बोल्न सक्ने भएको छु’, भिडियोसहित

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् । केही समय अगाडि प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट साझा गरिएको भिडियो ब्लकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य सुधार भएको बताएका हुन् । ‘मेरो स्वास्थ्य राम्ररी अगाडी बढिराखेको छ, सुधार भइरहेको छ,’ प्रधामन्त्री ओलीले भिडियो ब्लगमा भनेका छन्, ‘एउटा मेजर अप्रेसन पछि तपाईंहरु देखिरहनु भएको छ, म फेरि उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु, समाचार हेर्न सक्ने अवस्थामा छु ।’ प्रधानमन्त्री ओलीले एपेन्डिसाइटिस रोग सूचना दिएर नआउने र आफूलाई पनि अचानक देखिएको बताए ।

‘एपेन्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन, यो अचानक आइलाग्छ, मलाई पनि अचानक आइलाग्यो, त्यसमा इन्फेक्सन भएर र त्यो बाहिर पनि फैलिएछ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसमा मात्र इन्फेक्सन सीमित भएको भए, त्यसलाई निकालेर फल्दा सजिलो हुन्थ्यो, बाहिर पनि इन्फेक्सन भएकाले त्यसलाई निकालेर फाल्न केही दिन, हप्ता १० दिनको उपचारको क्रम लाग्ने भयो ।’ प्रधानमन्त्री ओलीले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १३ औं संस्करणको उद्घाटन समाराेह पनि लाइभ हेरेको बताएका छन् ।

प्रधानमन्त्रीको संबोधनको पूर्णपाठ
एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।

हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्