इन्डक्सनमा खाना पकाउनुस्, विद्युत महसुलमा २० प्रतिशत छुट हुन्छ – सरकार

Machchapuchchre

काठमाडाैं । सरकारले लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै विद्युतीय चुल्हो (इन्डक्सन) बाट खाना पकाउँदा विद्युत महसुलमा छुट दिने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १ सय ५० युनिट विद्युत प्रयोग गर्ने परिवारलाई महसुलमा २० छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ। अहिले पाँच जनाको परिवारले विद्युतको घरायसी प्रयोगमा ८० देखि १ सय युनिट प्रयोग गर्ने प्राधिकरणले जनाएको छ।

अब भने १५० युनिटसम्म खपत गर्दा २० प्रतिशत छुट हुनेछ। उर्जा मन्त्रालयले विद्युतको प्रयोग इडक्सन चुल्होमा गर्न आव्हान गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरी इन्डक्सन चुल्हो प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिएका हुन्।

इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्म २० प्रतिशत महसुल छुट दिन मन्त्री पुनको निर्देशन छ। मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए।

‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ। विद्युत हाम्रो आफ्नै उत्पादन हो’, मन्त्री पुनले भने, ‘यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ।’ मन्त्री पुनले ग्यासमा भन्दा सस्तो पर्ने भएको उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रह गरे।

‘महसुल छुट नदिँदा पनि ग्यासभन्दा इन्डक्सन सस्तो पर्छ’, उनले भने, ‘छुटपछि त झन् सस्तो पर्न आउँछ।’ विद्युतको आन्तरिक खपत बढाउन मन्त्रालयले यस्तो निर्णय गरेको पुनले बताए।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मुलुक नै लकडाउन भएपछि विद्युत खपतमा भारी गिरावट आएको छ। बिहान बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर ‘पिक आवर’मा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ।

यसअघि बुधबार बसेको नोबेल कोरोना (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो। यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्