इटलीमा अनावश्यक घरबाहिर निस्किए ४ लाख रुपैयाँ जरिबाना

Machchapuchchre

काठमाडाैं । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिने क्रम बढेसँगै इटली सरकारले थप कडाइ गरेको छ । मङ्गलबार राति देशको नाममा सम्बोधन गर्दै इटलीका प्रधानमन्त्री जिजेज्पी कोन्टेले बुधबारदेखि बिना कारण घरबाहिर निस्किनेले तीन हजार युरो जरिबाना तिर्नुपर्ने बताएका छन् ।

यो रकम तीन लाख ९७ हजार तीन सय ३८ नेपाली रुपैयाँ हुन आउँछ । यसअघिसम्म यो जरिबाना रकम दुई सय ६ युरो थियो । प्रधानमन्त्री कोन्टेले यसअघि बिना कारण निस्किने कार र अन्य सवारीसाधन जफ्त गर्न प्रहरीलाई आदेश दिएको भन्ने कुराको खण्डन पनि गरे ।

उनले खाद्य र पेट्रोल आपूर्तिमा कुनै कमी नआउनेमा जोड दिएका छन् । साथै प्रधानमन्त्री कोन्टेले आउँदो ३१ जुलाईसम्म लगाइएको आपत्कालअघि नै मानिसहरु सामान्य अवस्थामा फर्कनेमा विश्वस्त पारे । ६ महिने लामो आपत्काल लगाइनुको मतलब मानिसहरुमाथि पनि प्रतिबन्ध लगाइराख्नु नभएको उनले प्रस्ट पारे ।

अवस्था सामान्य हुन सुरु भएसँगै प्रतिबन्ध पनि हट्दै जाने उनले विश्वास दिलाए । इटलीको सबैभन्दा बढी कोरोना प्रभावित इलाका लम्बार्डीका नागरिकलाई घरबाट दुई सय मिटरभन्दा टाढा कुकुर डुलाउन लैजान प्रतिबन्ध लगाइएको छ ।

इटलीमा देखिएको कोरोना भाइरस सङ्क्रमणको ५० प्रतिशतभन्दा बढी हिस्सा लम्बार्डीले ओगटेको छ । साथै कोही व्यक्ति घरबाट निस्किएर कुनै भिडको हिस्सा बन्छ भने उसलाई पाँच हजार युरोसम्मको जरिबाना हुनसक्ने जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्