१ सय २३ देशमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४६ सय नाघ्यो, डब्लूएचओद्वारा विश्वव्यापी महामारीको घोषणा

Machchapuchchre

काठमाडौं । कोरोनाभाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख २६ हजारमध्ये ६८ हजार भन्दा बढि निको भएर घर फर्किएका छन् ।

५३ हजार २ सय २७ जनाको उपचार जारी छ । त्यसमध्ये ५ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ । अहिलेस्म ३१ सय ६९ जनाको चीनमा मृत्यु भएको छ भने इटालीमा ८ सय २७ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसको संक्रमणकै कारण इरानमा ३ सय ५४ जनाको, दक्षिण कोरियामा ६०, स्पेनमा ५५, फ्रान्समा ४८, अमेरिकामा ३८, जापानमा १५, बेलायतमा ८, नेदरल्याण्डमा ५, स्विटजरल्याण्डमा ४, जर्मनी र बेल्जियममा ३/३ जनाको मृत्यु भएको छ ।

१ सय २३ भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएको र ४ हजार ६ सय भन्दा बढीले ज्यान गुमाएपछि कोरोनाभाइरसको संक्रमणलाई विश्वस्वास्थ्य संगठन(डब्लूएचओ) ले विश्वव्यापी महामारीको घोषणा गरेको छ ।

बुधबार डब्लुएचओले पत्रकार सम्मेलन गर्दै चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो समय भयावह भएको भन्दै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो । संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सबै सचेत हुनुपर्ने बताए ।

भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन समेत आग्रह गरिएको छ । उनले कोरोना भाइरस नियन्त्रणको लागि उचित कदम चाल्न सबै देशका सरकारलाई आग्रह समेत गरेका छन् । उनले महामारीलाई हल्का रुपमा नलिन सबै राष्ट्रहरुलाई आग्रह गर्दै अस्पताल र आपतकालीन सेवाहरु तयारी अवस्थामा राख्न समेत अनुरोध गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्