जापानकाे पानीजहाजबाट भारतले यसरी गर्यो नेपालीकाे उद्धार

Machchapuchchre

नयाँदिल्ली । भारतले जापानको राजधानी टोकियोबाट कोरोना भाइरस संक्रमित पानी जहाज(डायमन्ड प्रिन्सेस क्रुज)मा रहेका आफ्ना ११९ जना नागरिकसहित एक नेपालीको पनि उद्धार गरेको छ । भारत सरकारले बुधबार कोरोना भाइरस सक्रमण देखिएको डायमण्ड प्रिन्सेस जहाजमा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि एअर इन्डियाको विशेष विमान त्यसतर्फ पठाएको थियो। उक्त जहाज १२४ जना यात्रु लिएर बिहीबार बिहान दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा ओर्लेको छ।

उद्धार गरेर दिल्ली ल्याइएका यात्रुहरुमध्ये ११९ जना भारतीय र पाँच जना विदेशी नागरिक छन्। उद्धार गरिएका पाँच जनामध्ये दुई जना श्रीलंकाली र नेपाल, दक्षिण अफ्रिका र पेरुका एक–एक जना नागरिक रहेको भारत सरकारले जनाएको छ।

‘डायमन्ड प्रिन्सेस जहामा रहेका ११९ जना भारतीयका साथै श्रीलंका, नेपाल, दक्षिण अफ्रिका र पेरुका पाँच जना लिएर टोकियोबाट उडेको एअर इन्डियाको विमान दिल्लीमा अवतरण गरेको छ,’ भारतीय विदेशमन्त्री एस जयशंकरले भारतीय समयअनुसार बिहान करिब पाँच बजे ट्वीटमा उल्लेख गरेका थिए। दिल्ली ल्याइएका भारतीयमध्ये ११३ जना पानीजहाजका चालक दलका सदस्य र ६ जना यात्रु रहेको बताइएको छ।

दिल्लीस्थित नेपाली दूतावासले एक जना नेपाली नागरिकको उद्धार गरिएको पुष्टि गरेको छ। दूतावासका प्रवक्ता हरि ओडारीले भारतको विदेश मन्त्रालयले टोकियोबाट उद्धार गरिएकामध्ये एक जना नेपाली नागरिक भएको जानकारी गराएको बताए। ‘हामीलाई एक जना नेपाली नागरिक रहेको जानकारी आएको छ,’ प्रवक्ता ओडारीले भने। उद्धार गरिएका ती नेपालीको परिचय भने खुलेको छैन। उनलाई दिल्ली छेउको हरियाणाको मानेसरस्थित सैनिक क्याम्पमा १४ दिनको क्वारेन्टाइनमा राखिने बताइएको छ।

स्रोतका अनुसार भारतीय पक्षले पानीजहाजमा रहेका अन्य देशका नागरिकहरुले यदि चौध दिनको क्वारेन्टाइन अनिवार्य रुपमा बस्न तयार हुन्छन् भने उद्धार गर्ने प्रस्ताव राखेको थियो। जहाजमा रहेका एक जना नेपाली यात्रुले त्यसमा सहमति जनाए। त्यसपछि अन्य यात्रुसहित उनलाई पनि उद्धार गरेर दिल्ली ल्याइपुर्‍याइएको हो। तर, जहाजमा अरु कति नेपाली यात्रु छन् भन्ने चाहिँ खुलेको छैन।

चार फेब्रुअरीमा पहिलो पटक उक्त जहाजमा रहेको दश जनामा कोरोना भाइरसको संक्रमण भएको खुलेको थियो। तर, समयमै ती संक्रमितहरुको उद्धार नहुँदा जहाजमा यात्रा गरिरहेका ३७०० जना यात्रुमध्ये ७०० जनामा कोरोनाको संक्रमण देखिएको बताइएको छ। र, चारजनाको त मृत्यु समेत भइसकेको छ। अमेरिकाले जहाजमा रहेका आफ्ना नागरिकहरुलाई यसअघि नै उद्धार गरिसकेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्