चीनबाट ल्याइएका १ सय ७५ जनालाई खरिपाटी पुर्‍याइयो, १५ दिन क्वारेन्टाइनमा रहने, ६ जनालाई उतै रोकियो

Machchapuchchre

काठमाडौं । चीनको वुहान शहरबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपाली सबैलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि सीधै क्वारेन्टाइनमा लगिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उदगमस्थलबाट ल्याइएकाले उनीहरु सबैलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ । उद्धार गरिएकाहरुलाई विमानस्थलबाट खरिपाटीसम्म पुर्‍याउन पाँच वटा बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो । ती गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेको थियो ।

खरिपाटीमा राष्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले उनीहरुको नमूना परीक्षण गर्नेछन् । नमूना परीक्षण गर्दा कुनै शंका लागेमा उनीहरुलाई बिभिन्न अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने अधिकारीहरुले बताएका छन् ।

वुहानबाट नेपाल फर्किएकाहरुमा १७० जना विद्यार्थी, एक जना कामदार, दुई जना पर्यटक तथा दुई जना नाबालक रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । ६ जनामा भने ज्वरो देखिएको भन्दै चीनले वुहान विमानस्थलमै रोकेको छ । तीन जना भने नेपाल फर्कन इच्छा नदेखाएर वुहानमै बसेका दूतावासले जनाएको छ । चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिला नेपाल आएका हुन ।

वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो । जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका–६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्