मध्य मालीमा जातीय हिंसा बढ्यो, कम्तीमा ३१ जनाको मृत्यु, दर्जनौं घाइते

Machchapuchchre

बामाको । अफ्रिकी मुलुक मालीमा भएको जातीय हिंसामा परी कम्तीमा ३१ जना मारिएका छन् । घुमन्ते गोठालो जीवन बिताउने फुलानी आदिवासीको बसोबास रहेको मध्य मालीको ओगोसागोउ गाउँमा हातहतियार सहित आएको समूहले आक्रमण गरेको बताइएको छ । आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् ।

यस आक्रमण कसले गराएको भन्नेबारे स्थानीय अधिकारीले केही नखुलाएपनि गाउँलेले आक्रमणमा शिकारी जीवन बिताउने डोगोन आदिवासीको हात रहेको आरोप लगाएका छन् । ३० जनाको समूहमा आएका हतियारधारीले गाउँमा प्रवेश गरी जथाभावी गोली चलाएको र स्थानीयका घर, गोठ र अन्नपात जलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मालीका सैनिकले नजिकै रहेको शिविर छाडेको २४ घण्टा नबित्दै गाउँमा आक्रमण भएको जनाइएको छ । एकजना सैनिक अधिकारीले हाल त्यस क्षेत्रमा सैनिकलाई पुनः तैनाथ गरिएको जनाएका छन् । -श्रोत साधनको नियन्त्रण, इस्लामिक लडाकु समूहको सक्रियता लगायतका कारण मालीको मध्यभागमा जारी हिंसाबाट हालसम्म २ लाख भन्दा धेरै विस्थापित भइसकेका छन् ।

आतंककारी समूह अल कायदा आबद्ध स्थानीय कतिबा मचिना नामक अतिवादी समूहका कारण यस्ता हिंसा मच्चिने गरेको छ । यस समूहका नेता अमदु कुफाले स्थानीय फुलानी मुसलमानलाई आफ्नो समूहमा भर्ती गरी अरु जातीय समूहमाथि आक्रमण गराउने गरेको बताइएको छ । त्यसको बदलामा डोगोन, बम्बारा लगायतका जातीय समूहले आत्मरक्षाका लागि सैनिक दस्ता स्थापना गरी फुलानी जातीय समूहविरुद्ध आक्रमण गर्दै आएका छन् ।

अघिल्लो वर्षको मार्च महिनामा सोही गाउँमा प्रतिद्वन्द्वी जातीय समूहले गराएको हिंसामा १५० जनाभन्दा धेरै मारिएका थिए । सन् २०१२ मा मालीको उत्तरी एवं मध्य क्षेत्र कब्जा गर्दै अघि बढेका आतंककारी समूह अल कायदाका लडाकु र स्थानीय तुआरेग जातीय विद्रोहलाई निस्तेज पार्न फ्रान्सेली सेनाले मालीमा सैनिक आक्रमण नै गर्नु परेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्