कोरोना प्रकोप : चीनमा एकैदिन ६५ जनाको मृत्यु, २४ हजार बढी संक्रमित

Machchapuchchre

बेइजिङ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरसका कारण चीनमा मंगलबार मात्रै ६५ जनाको मृत्यु भएको जनाएको छ । बुधबार बिहानसम्मको तथ्यांकअनुसार चीनमा मात्रै कोरोना भाइरसका कारण ४९० जनाको मृत्यु भइसकेको छ । त्यस्तै हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ ।

मंगलबार मात्रै थप ३ हजार ९ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार बिहानसम्म चीनमा २४ हजार ३ सय २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका करिब दुई दर्जन मुलुकमा फैलिइसकेको छ । चीनबाहिर झन्डै १८० जनामा यसको संक्रमण देखिएको छ । त्यस्तै चीनले कोरोना भाइरस संक्रमितमध्ये ९११ जना निको भएको जनाएको छ ।

चीनद्वारा कमजोरी स्वीकार
प्राणघातक नोवल कोरोना भाइरस प्रकोप रोकथाम तथा नियन्त्रणमा ‘कमजोरी भएको’ चीनले स्विकारेको छ ।

सत्तारुढ कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी कमिटी बैठकले भाइरस नियन्त्रणमा उचित कदम चाल्न नसकेको जनाएको हो । देशको आपत्‌कालीन व्यवस्थापन प्रणालीमा सुधारको आवश्यकता रहेको समेत उसले बताएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको उच्च राजनीतिक अंगले विरलै यस प्रकारको अभिव्यक्ति दिन्छ ।

वन्यजन्तुको गैरकानुनी बजारलाई पूर्ण बन्द गर्न पनि पोलिटब्युरोले निर्देशन दिएको छ । कोरोनाको संक्रमण वन्यजन्तुको गैरकानुनी बजारबाटै सुरु भएको अनुमानकै बीच पछिल्लो निर्देशन आएको हो । ‘यस्ता कमजोरी हटाउन आपत्कालीन व्यवस्थापन प्रणालीलाई सुधार गर्नुपर्छ र जटिल कार्य सम्हाल्न राष्ट्रिय क्षमतामा सुधार गर्नुपर्छ,’ पोलिटब्युरोले भनेको छ ।

बजार अनुगमन बलियो बनाउन पनि निर्देशन दिइएको छ । भाइरसलाई लिएर सरकारको सुरुवाती कदमबारे चीनमा व्यापक आलोचना भइरहेको छ । अधिकारीहरूले सुरुमा भाइरस संक्रमणलाई गम्भीर रूपमा नलिएको र केही अवस्थामा सूचना लुकाएको आरोप खेपिरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्