स्थानीयको माग सम्बोधन गरी उत्तरगङ्गा आयोजना निर्माण हुन्छ : ऊर्जामन्त्री

Machchapuchchre

ढोरपाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्थानीय जनताको माग सम्बोधन गरी उत्तरगङ्गा जलाशययुक्त आयोजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । बागलुङको ढोरपाटनमा रहेको आयोजनास्थलको आज निरीक्षणपछि स्थानीयवासीसँग उनले आयोजनालाई अगाडि बढाउन स्थानीयवासीको साथ र सहयोग जरुरी रहेको बताए ।

कूल ८२८ मेगावट क्षमताको जलाशययुक्त आयोजना हाल नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको छ । आयोजना निर्माण हुँदा स्थानीयवासीले मात्र नभई समग्र मुलुकले समेत ठूलो आर्थिक लाभ प्राप्त गर्ने भएकाले आयोजना अगाडि बढाउन स्थानीयवासीको भूमिका रहेको उनले बताए ।

मन्त्री पुनले आयोजनालाई सकेसम्म स्थानीयवासीको हितअनुसार नै अगाडि बढाउन सरकार लागिपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं बागलुङका सांसद देवेन्द्र पौडेलले अयोजनालाई जतिसक्दो छिटो अगाडि बढाउन सरकारसँग आग्रह गरे । यो बागलुङको मात्र नभई नेपालको मुहार फेर्ने आयोजना हो, उनले भने, आयोजना निर्माणमा सहजीकरण गर्न तयार छौँ ।

जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले प्रारम्भिक अध्ययनलाई पूर्णता दिँदै नयाँ आधारमा अध्ययन भइरहेको सो आयोजना सरकारले अगाडि सारेको रणनीतिक महत्वको आयोजनामध्ये एक हो । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका तथा रुकुम जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको सिमानामा आयोजना निर्माण गर्ने तयारी गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी उत्तरगङ्गा जलविद्युत् कम्पनीले कूल ८२८ मेगावाट क्षमताको सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्नका लागि परामर्शदाता छनोटको प्रक्रिया अगाडि बढाएको छ ।

थोरै बस्ती उठाउनुपर्ने तथा खेतीयोग्य जमीनसमेत कम प्रभावित हुने भन्दै प्राधिकरणले सो आयोजनालाई आकर्षक आयोजनाको रुपमा राखेको छ । आयोजनाबाट कूल ६२५ घरधुरी विस्थापित हुने प्रारम्भिक अध्ययनले जनाएको छ । कूल २०० मिटर अग्लो बाँध निर्माण गरेर झण्डै १० किलोमिटर सुरुङबाट पानी पठाएर ८२८ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्