काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे सङ्ख्या १ सय ७० पुग्याे, उच्च सतर्कता अपनाउन आग्रह

Machchapuchchre

काठमाण्डौ । चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ७० पुगेको छ । योसँगै कोरोना भाइरसबाट एक हजार सात सय नयाँ व्यक्ति सङ्क्रमित भएको पुष्टि गरिएको छ । विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सात हजार सात सय नाघिसकेको छ ।

त्यस्तै १२ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको आशङ्का गरिएको छ । चिकित्सकका अनुसार सङ्क्रमित व्यक्तिमध्ये पाँच जनामध्ये एक जना व्यक्तिमा गम्भीर निमोनियाको लक्षण देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसलाई लिएर उच्च सतर्कता अपनाउन विश्वलाई आग्रह गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको आपतकालीन स्वास्थ्य कार्यक्रमले कोरोना भाइरसबारे सचेत रहन र यसविरुद्ध लड्न विश्वलाई आव्हान गरेको हो । विश्व स्वास्थ्य सङ्गठनले ‘कोरोनाको सङ्क्रमण र नियन्त्रण’ बारेको बैठकपछि विश्वमै कोरोनाले आपत सिर्जना गर्ने भन्दै थप फैलन नदिइ नियन्त्रण गर्न विश्व जुट्नुपर्ने बताएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस अमेरिका, अस्ट्रेलिया, थाइल्याण्ड, फ्रान्ससँगै विश्वका १६ देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एडहेनोमले भने, ‘कोरोना भाइरसलाई विश्व स्वास्थ्य आपतकाल घोषण गर्ने कि नगर्ने भन्ने बारेमा बिहीबार फैसला लिइनेछ ।’

महानिर्देशक एडहेनोमले यो समस्या विश्वभरि नै फैलन आशङ्का बढेको छ र यसको समाधानका लागि सबै विश्व नै तयार हुनुपर्ने बताएका छन् । चिनियाँ अधिकारीहरुले अहिलेसम्म सङ्क्रमितमध्ये एक सय २४ जना उपचारपछि पूर्णरुपमा निको भएको बताएका छन् ।

के हो त कोरोना भाइरस ?
जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।

जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ । यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्