सानातिना मतभेदलाई बिर्सेर शहीदका सपनालाई विपनामा रुपान्तर गर्न सङ्कल्प गरौँ – देउवा

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निम्ति सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तरणका लागि सङ्कल्प गर्न आह्वान गरेका छन् ।

शहीद दिवसका अवसरमा एक सन्देश जारी गर्दै सभापति देउवाले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त एवं समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् ।

लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गर्दै सभापति देउवाले यसबाट नै विद्यमान विसङ्गतिको अन्त्य हुने र राष्ट्रले दु्रततररुपमा विकास र निर्माणका कार्य गर्ने बताए ।

‘लोकतन्त्रको एउटा सवल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय । सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा ती देशभक्त वीर सपुतले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए’, विज्ञप्तिमा उल्लेख छ ।

विसं १९९७ देखि २०६२/०६३ हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौँ वीर सपुतले आफ्नो प्राणको आहुति दिएका छन् । नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउन आफूलाई उत्सर्ग गर्ने तिनै अमर शहीदमा श्रद्धा व्यक्त गर्न, उनीहरुको साहस, सङ्कल्प र आदर्शलाई सम्मान गर्न ‘शहीद दिवस’ मनाइरहेको सभापति देउवाले बताए ।

प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ ।

शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।

हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने काम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचली र माघ १३ गते धर्मभक्त माथेमालाई सिफल तथा गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।

माघ १६ गते शहीद दिवसका अवसरमा बिहान शान्तिबाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्