गौरीकुमारी यादवले उद्योगमन्त्रीबाट दिइन् राजीनामा

Machchapuchchre Bank

Artharajniti  ~   ग्यास उद्योगीलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्तिका कारण उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पद गएको छ। संसदीय समितिमा विवादास्पद अभिव्यक्ति दिएको भोलिपल्टै मन्त्री गौरीकुमारीको पद गएको हो। उनले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्। उनी मन्त्रीको जिम्मेवारी सम्हालेको ठिक पाँच महिनामा राजीनामा दिन बाध्य भएकी हुन्। गौरीकुमारी गत चैत २७ गते मन्त्री नियुक्त भएकी थिइन्। त्रिशूली नदीको बाढीले कटान गरेका कारण भदौ १४ गते कृष्णभीरको सडक भासिएर काठमाडौंको पाइपलाइन मानिने पृथ्वी राजमार्ग बन्द भएर आपूर्ति व्यवस्था प्रभावित भएको अवस्थामा गौरीकुमारीले बुधबार प्रतिनिधि सभाको उद्योग समितिमा उद्योगी र कर्मचारीमाथि जथाभावी अभिव्यक्ति दिएकी थिइन्। उनले उद्योगीहरुले नै ग्यासको हाहाकार सिर्जना गरेको तथा कर्मचारीलाई पनि उद्योगीको इशारामा चलेको आरोप लगाएकी थिइन्। यसपछि उद्योगीहरुले आपत्ति जनाएका थिए। कर्मचारी पनि उनको अभिव्यक्तिबाट रुष्ट भएका थिए। भोटेकोशीमा आएको बाढीले निम्त्याएको विपद्‍मा निजी क्षेत्रले सरकारलाई खुलेर साथ दिइरहेको अवस्थामा मन्त्रीले हतोत्साही तुल्याउने गरी आपत्तिजनक अभिव्यक्ति दिएपछि प्रधानमन्त्री बालेनले पनि रुचाएका थिएनन्। बालेनको सचिवालय सदस्य विशाल अधिकारीले उद्योगीलाई बोलाएर मन्त्रीको अभिव्यक्तिको वास्ता नगरी निरन्तर ग्यास आपूर्ति गर्न आग्रह गरेका थिए। अधिकारीको निम्तामा नेपाल ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द तथा पूर्वअध्यक्षहरु शिवप्रसाद घिमिरे र गोकुल भण्डारी प्रधानमन्त्री कार्यालय पुगेका थिए। पृथ्वी राजमार्ग बन्द रहेका कारण उद्योगीले अहिले विभिन्न जिल्लाका बोटलिङ प्लान्टमा रिफिल गरेर ग्यास हेटौंडाको बाटो हुँदै काठमाडौं ल्याइरहेका छन्।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्