Artharajniti ~ राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालनसहित पुनर्निर्माण र पुनःस्थापनालगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा हाम्रो क्षमताले नभ्याए ठूला बेलिब्रिजसहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोगसमेत लिन सुझाव दिए । साथै उनले जलवायु परिवर्तनका कारणबाट नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्ने सुझाव पनि दिए । राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग राष्ट्रपति भवन शीतलनिवासमा बुधबार छुट्टाछुट्टै छलफल गरी सडक यातायात सञ्चालन एवम् बाढीपीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन आग्रह गरे । उनले आफूले बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा पीडितको अवस्था र बाढीबाट पुगेको क्षति देखेको उल्लेख गर्दै बसोबास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले बाढीप्रभावित क्षेत्रको जनजीवन सहज र सरल बनाउन तत्कालका कामलाई प्राथमिकता दिन आग्रह गरे ।
बाढीपछिको पुनर्निर्माणलाई तीव्रता दिन सरकारलाई राष्ट्रपतिको आह्वान



