” प्रचण्डले राजीनामा दिएर नयाँ चुनाव गर्नु उपयुक्त हुन्छ ” : अध्यक्ष भट्टराई

Machchapuchchre

Artharajniti   ~  नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जितेको क्षेत्र गोरखा २ बाट राजीनामा दिनु उपयुक्त हुने टिप्पणी गरेका छन्। २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड गोरखा २ बाट निर्वाचित भएका थिए। त्यसबेला उनी तत्कालीन सत्ता गठबन्धनका दल नेपाली कांग्रेससहितबाट साझा उम्मेदवार थिए। गोरखा २ मा बाबुरामले निर्वाचन लड्दै र जित्दै आएका थिए। तर बाबुराम आफू नलडेर २०७९ मंसिरमा गोरखा २ मा प्रचण्डलाई समर्थन गरेका थिए। ‘प्रचण्डजीले चुनावपूर्वको गठबन्धनलाई अर्को निर्वाचनभन्दा पहिले छोड्नु त राजनीति र नैतिक हिसाबले उपयुक्त हुँदैन,’ भट्टराईले गृह जिल्ला गोरखामा बिहीबार पत्रकार सम्मेलन गर्दै भने, ‘उहाँले त्यसलाई परिवर्तन गर्ने हो भने जसको सहयोगमा उहाँले निर्वाचन जित्नुभएको छ। तिनीहरूलाई त धोका दिएको ठहर्छ। त्यस्तो स्थितिमा उहाँले जितेको निर्वाचन क्षेत्रबाट राजीनामा दिनु र फेरि नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ।’ आफू सांसद नहुँदा पनि निर्वाचन क्षेत्र र गोरखा कम्तीमा महिनामा एक पटक आउने गरेको उनले बताए। गोरखा २ मा फेरि चुनाव उठ्ने तयारी हो भन्ने प्रश्नमा जबाफ दिएका भट्टराईले भने, ‘म आफैँ उठ्छु भनेको छैन, तर सधैं चुनाव उठ्दिनँ पनि भनेको छैन। यो त भोलिका परिस्थितिमा निर्भर रहने कुरा हो।’ उनले गण्डकी प्रदेशमा फणिन्द्र देवकोटा नेपाल समाजवादी पार्टीकै सांसद रहेको बताए। ‘आवश्यकतालाई ध्यान दिएर कसलाई सहयोग गर्ने निर्णय गर्छौं। तर हामीलाई जुन ढंगले माओवादीले धोका दिने काम गरिरहेको छ। तत्काल उनीहरूलाई साथ दिन सक्ने अवस्था छैन,’ उनले भने, ‘अर्को पक्षमा पनि मिल्छ कि मिल्दैन। आवश्यकता हेरेर निर्णय गर्छौं।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्