काठमाडौं महानगरपालिका : “सहकारीको ऋण समयमै तिर्नू अन्यथा असुली प्रक्रिया अगाडि बढाइन्छ “

Machchapuchchre

Artharajniti  ~  काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूबाट लिएको ऋण समयमै तिर्न आग्रह गरेको छ। महानगरको सहकारी विभागले सूचना प्रकाशित गर्दै केही ऋणीहरूले समयमा सावाँ तथा ब्याज भुक्तानी  गर्न विभिन्न बहानाबाजी गरेको र केहीले सहकारीको ऋण तिर्न नपर्ने जस्ता भ्रम फैलाएको गुनासो आएकाले त्यस्ता ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको हो। महानगरले केही सहकारी संस्थाहरूमा तरलताको समस्याले सदस्यहरूको वचत फिर्ता गर्न नसकेको अवस्था पाइएको पनि बताएको छ । ‘ऋणी सदस्यहरूले समयमा नै ऋण भुक्तानी नगरेमा संघीय सहकारी ऐन २०७४ को दफा ८३२८४ बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ एवं काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६१ र ६२ मा ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था गरेको छ,’ सूचनामा भनिएको छ। त्यसकारण समयमै ऋण चुक्ता गर्न महानगरले आग्रह गरेको हो। अन्यथा ऋण असुली प्रक्रिया अगाडि बढाइने ऊसले चेतावनी दिएको छ। ‘प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानुनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गरिदिनुहुन सम्पूर्ण ऋणी सदस्यहरूमा अनुरोध छ। अन्यथा कानून बमोजिम ऋण असुली प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्