मौद्रिक नीतिमा लचकता अपनाउन अर्थमन्त्री राष्ट्र बैंकसँग छलफलमा

Machchapuchchre

Artharajniti  ~  अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन्। नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक कमजोर रहे पनि समग्रमा अर्थतन्त्र संकटबाहिर रहेको बताए। उनले एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको, बैंकहरुमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहेको तथा विप्रेषणमा नयाँ रेकर्ड कायम हुनुले आगामी दिनमा नेपाली अर्थतन्त्रको भविष्य राम्रो रहेको संकेत गरेको बताए। उनले अर्थतन्त्रमा केही शिथिलता रहेको स्वीकार गरे। उनले विकसित र अर्थतन्त्रमा नेपालभन्दा धेरै अगाडि बढिसकेका संसारका कुनै पनि मुलुक समस्यारहित नरहेको भन्दै पुनले संकटकै समयमा नेतृत्वले आफ्नो क्षमता देखाउनुपर्ने बताए। मन्त्री पुनले यसअघिका अर्थमन्त्रीले अघि सारेका राम्रा र सकारात्मक नीतिलाई निरन्तरता दिने बताए। उनले विगतमा अर्थतन्त्र संकटमा रहेका बेला लिइएका कतिपय नीतिमा खुकुलो बनाउन मन्त्रालय र नियामक निकायबीच छलफल चलिरहेको जानकारी समेत दिए। ‘अर्थतन्त्र संकटमा रहेका बेला लिइएका कतिपय नीति खुकुलो बनाउन मन्त्रालय र नियामक निकायबीच छलफल चलिरहेको छ,’ उनले भने, ‘सेयर बजारमा सकारात्मक संकेत देखिन थालेको छ। सरोकारवालाबाट सुझाव प्राप्त भएपछि सुधारको कदम चाल्छौं।’ नेपालमा चर्चाका लागि धेरै सकारात्मक विषय भए पनि नकारात्मक पक्षलाई बढी महत्व दिने गरिएको उनको गुनासो छ। उनले मानव विकास सूचकाकंमा नेपाल विश्वका कतिपय विकसित मुलुकको हाराहारी र दक्षिण एसियामा सबैभन्दा अगाडि रहेको रिपोर्ट सार्वजनिक भइरहँदा पनि नेपालमा केही छैन, केही हुँदैन भनिनु दुःखद भएको बताए। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्