रुसी सेनामा भर्ती भएका नेपालीको परिवारसँग रिसाए परराष्ट्रमन्त्री

Machchapuchchre

Artharajniti  ~  परराष्ट्रमन्त्री एनपी साउद रुसी सेनामा काम गर्दा ज्यान गुमाएका र घाइते भएका नेपालीका आफन्तसँग रिसाएका छन् । मृतक परिवारलाई राहत, घाइतेको उपचार र वेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै मंगलबार परराष्ट्र मन्त्रालयमा पुगेका पीडित परिवार र आफन्तसँग मन्त्री साउदले घटना सञ्चार माध्यममा सार्वजनिक गरेको भन्दै रिसाएका हुन् । रुसी सेनामा ज्यान गुमाएका र घाइते भएका पीडित परिवारका सदस्यलाई लिएर परराष्ट्र मन्त्रालय पुगेकी कृतु भण्डारीका अनुसार मन्त्री साउदले पीडित परिवारले सञ्चार माध्यममा बोलेको विषयमा आपत्ति जनाएका थिए । ‘हामी मन्त्री समक्ष मृतक परिवारलाई राहत, घाइतेलाई उपचार र वेपत्ताको अवस्था सार्वजनिक तथा रुस सेनामा गएकाहरुलाइ उद्धार गरिदिन भनेर मागहरु राख्न गएका थियौं’, उनले भनिन्, ‘तर मन्त्रीज्यूले पीडित परिवारका मागहरु सुन्ने भन्दा पनि उल्टै मिडियामा किन गएको र परिवारहरु संगठित किन भएको भनेर आक्रोश पोख्नुभयो ।’ रुसी सेनामा गएर वेपत्ता, घाइते र मृत्यु भएका गरी ३१ जना नेपालीको परिवारका सदस्य मन्त्रीसँग छलफलका लागि पुगेका थिए । मन्त्री साउदले पीडित परिवारले राखेका मागका विषयमा छलफल गर्नुभन्दा पीडित परिवारमाथि नै खनिएको भण्डारीले सुनाइन् । ‘तपाईंहरु मनलाग्दी विवरणहरु सार्वजनिक गर्ने र मिडियाबाजी गर्ने भन्दै मन्त्रीज्यूले छलफल अवधिभर परिवारहरु माथि आक्रोश पोखिराख्नु भयो’, उनले भनिन् । गत शनिबार पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानले हालसम्म रुसी सेनामा गएका र परिवारको सम्पर्कमा रहेकाहरुको विवरणका आधारमा मृतक र भर्ती हुनेको अनौपचारिक तथ्यांक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए । सोही विषयलाई मन्त्रीले पीडित परिवारसँग आक्रोश पोखेका भण्डारीको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्